Logo

२७ साउन,काठमाडौँ । उच्च अदालत न्यायाधीश सैयद रेफत अहमद बांङ्लादेशका प्रधान न्यायाधीश नियुक्त भएका छन् ।

विद्यार्थीहरूले गरेको आरक्षणविरुद्धको आन्दोलनका क्रममा प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देश छाड्न बाध्य भएकी थिइन् । यसपछि विद्यार्थीहरूले प्रधानन्यायाधीश अबैदुल हसनसहित ५ न्यायाधीशहरूको राजीनामा मागेका थिए ।

हसनले राजीनामा दिएपछि शनिबार राष्ट्रपति मुहम्मद सहाबुद्दीनले अहमदलाई प्रधानन्यायाधीश नियुक्त गरेका थिए । ढाकाको अखबार द डेली स्टारका अनुसार, नवनियुक्त प्रधानन्यायाधीश अहमदले आइतबार राष्ट्रपति निवासमा १२ः४५ बजे शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण समारोहमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुस, अन्य सल्लाहकार र उच्च सरकारी अधिकारीहरू सहभागी थिए । योसँगै अहमद बांङ्लादेशको २५ औँ प्रधानन्यायाधीश बनेका छन् ।

तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि नयाँ सरकार बनाउन सेनाले अग्रसरता लिएको थियो । त्यसपछि बनेको युनुस नेतृत्वको अन्तरिम सरकारलाई चुनाव गराउने जिम्मेवारी छ ।

विद्यार्थीहरूले गरेको दुई महिना लामो आन्दोलनमा कम्तिमा ३०० जना मारिएका छन् ।


सम्बन्धित समाचार