Logo

२७ साउन,काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशन नियमित समयमा नै हुने प्रतिबद्धता जनाएका छन् ।

काँग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता डा. शेखर कोइरालाले महाधिवेशन समयमै नहुने आशंका व्यक्त गरेका थिए । कोइरालाले १५ औँ महाधिवेशन नियमित समयमै हुनुपर्ने जिकिर गरेका थिए ।

केन्द्रीय समिति बैठकमा सहभागी एक नेताका अनुसार कोइरालाले बोल्दाबोल्दै देउवाले रोकेर भने, ‘महाधिवेशन नियमित समयमै हुन्छ । सार्ने कुरै छैन । सबै एक भएर त्यसमा लागौँ ।’

नियमित समय अनुसार महाधिवेशन हुँदा २०८२ को मंसिरमा १५ औँ महाधिवेशन हुनुपर्दछ ।

नेता डा. कोइरालाले संघ र प्रदेशमा मन्त्री छनोटप्रति असन्तुष्टि जनाएका छन् । दुई ठूला दल (नेपाली काँग्रेस र नेकपा एमाले) सुशासनका लागि एक ठाउँमा आएको भनिए पनि व्यवहारमा त्यस्तो नदेखिएको उनले बताए ।

‘वर्तमान सरकार गठनको सन्दर्भमा नेपाली काँग्रेस र एमालेले सुशासनको धेरै प्रतिबद्धता गरेका छन्’ कोइरालाले भने, ‘तर व्यवहारमा संघ र प्रदेशमा मन्त्रीहरू छनौटले सुशासनलाई जिस्काइरहेको छ । हामी किन यसरी सुशासनको सन्दर्भमा बारम्बार चुक्दैछौँ ?’

गठबन्धनको कारण ठूलो दल भए पनि काँग्रेसको जनाधार खुम्चिएको निर्वाचन परिणामले देखाएको उनले बताए । ‘काँग्रेस हिजो किन खुम्चियो र आज फेरि किन गठबन्धनको कारण ठूलो दलको रूपमा संसदमा उपस्थित छ,’ उनले भने, ‘यद्यपि, काँग्रेसको जनाधार खुम्चिएको निर्वाचनले देखाएको छ । यी सबैको वस्तुनिष्ठ समीक्षा गर्ने जिम्मा म इतिहासलाई छाडिदिन्छु ।’

सरकारी निकायमा राजनीतिकरण भएर तिनको प्रभावकारिता भुत्ते भएको कोइरालाले बैठकमा सुनाए ।

 

 


सम्बन्धित समाचार