Logo

२८ साउन, वीरगञ्ज । साउन महिनाको अन्तिम सोमबार आज वीरगञ्जको पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवजीको पूजापाठ गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रका जानकार ज्योतिष प्रेम प्रसाद सुवेदीले बताउँछन् ।

पर्साको दुग्धेश्वर महादेव मन्दिर (भाथाधाम) र बाराको काँटघाट लगायतका शिव मन्दिरमा श्रद्धालुहरुको बिहानैदेखि घुइँचो छ ।

वीरगञ्जको चिनीमिल आवास क्षेत्र भित्र अवस्थित पशुपतिनाथ मन्दिरमा पूजापाठ गर्न हजार भन्दा बढी दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध देखिएका छन् ।

यस्तै वीरगञ्जकै अलखिया मठमा पनि दर्शनार्थीहरुको घुँईचो छ । बिहानै देखि दर्शनाथीहरु नुहाईधुवाई गरी जल चढाउन त्यहाँ पुगेका छन् ।

यसैगरी काठमाडौंको पशुपतिसहित, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुइँचो लागेको छ ।


सम्बन्धित समाचार