Logo

२८ साउन, काठमाडौँ । राज्यसंयन्त्रको मिलेमतोमा संगठित गिरोहले अवैध रुपमा नेपाल भित्राएको सुनचाँदीको कारोवारमा संलग्न व्यवसायीको पहिचान भएपनि प्रहरीले तस्करीको सुन खरिद विक्रीका बारेमा अहिले सम्म अनुसन्धान शुरु गरेको छैन ।

अन्तरदेशिय रुपमा संगठित अपराधमा संलग्न समूहसँग जोडिएका सुन व्यवसायीहरुको पहिचान गरेपनि राज्यसंयन्त्रका उच्च तहका व्यक्तिहरु समेत यसमा तानिन सक्ने अवस्था देखिएपछि प्रहरीले अनुसन्धान रोकेको स्रोतको भनाई छ । विद्युतीय चुरोट (भेप) र ब्रेक सुजस्ता उपकरणमा लुकाएर ल्याइएको सुनसमेत नेपालकै सुनचाँदी पसलले किनेर सर्वसाधारणलाई बेचेको प्रहरी अनुसन्धानबाटै खुलेको थियो ।

६० किलो सुन प्रकरणमा भएका छानविन र अनुसन्धानमा सुन तस्करीमा संलग्न रहेका विभिन्न समूह मध्ये एउटा समूहले एक बर्षमा करिव ३५ हजार किलो सुन तस्करी गरेको तथ्य प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईवीले सार्वजनिक गरेको छ ।

चिनियाँ तस्करसँगको मितेमतोमा भेप, ब्रेकसु र विद्युतीय उपकरणलगायतमा लुकाएर करिब ३५ क्विन्टल सुन भित्राएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानबाट खुलेको थियो । भन्सार छलेर ल्याइएको सुन नेपाली सर्वसाधारणलाई समेत बेचिएको बयान पक्राउ परेका व्यक्तिहरूले नै दिएका छन ।

अवैध सुनको कारोवारमा काठमाडौं उपत्यका भित्र र बाहिरका प्रमुख शहरका सुन व्यवसायीहरु संलग्न रहेको पक्राउ परेका अभियुक्तबाट खुलेको प्रहरीको भनाई छ । काठमाडौं स्थित न्यूरोडमा रहेको लक्की ज्वेलर्स, महाकाली ज्वेलर्स, पशुपति ज्वेलर्स, जागेश्वरी ज्वेलर्स, जानाजान खरिदमा संलग्न भएको सीआईबीकै अनुसन्धानमा पाइएको थियो ।

त्यसैगरी महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औं प्रतिवेदनमा न्यूरोड क्षेत्रका ४८ वटा सुन पसलले गरेको कारोवार मध्ये ८७ प्रतिशत अवैध रुपमा खरिद गरेको उल्लेख गरेको छ । न्यूरोडमा रहेका सयपत्री (मेरिगोल्ड) ज्वेलर्स, गहनागृह, निलम ज्वेलर्स, कुमकुम ज्वेलर्स, एचएल गोल्ड एण्ड सिल्भर हाउस, जयमाँताजी, जेजे ज्वेलर्स, अवतार ज्वेलर्स, मारुती ज्वेलर्स, अश्री ज्वेलर्स, गणपति ज्वेलर्स, सगुन ज्वेलर्स, रिद्धिसिद्धि ज्वेलर्सले बैंकबाट खरिद गरेको सुन भन्दा बाहिरबाट खरिद गरेको सुन करिव ८७ प्रतिशत रहेको आन्तरिक राजश्व कार्यालय न्यूरोडले जनाएको छ ।

काठमाडौंको सोह्रखुट्टे, ठमेल, बालाजु, दरवार मार्ग, बानेश्वर, सिनामंगल, टोखा, नक्सालमा रहेका अधिकांश गहना पसलले अवैध सुन खरिद गरेको प्रहरीको बुझाई छ । उपत्यका बाहिर रहेका विराटनगरको राठी ज्वेलर्स, नारायणगढमा रहेको मुक्तिनाथ सुनचाँदी पसल, जय सन्तोषी माँ सुनचाँदी ज्वेलर्स, बुटवलमा रहेको  श्रीराम गुल्मेली सुनचाँदी पसल, आशापुरी ज्वेलरी, बारामा रहेको त्रिशक्ति क्रिएसन, गजानन ज्वेलर्स र हरेराम हरे कृष्ण सुनचाँदी पसलका सञ्चालक तथा कर्मचारीले तस्करीको सुन खरिद गरेको रिर्पोट सिआईबीसँग छ ।

भारतीय नागरिक अशोक गायकवाड र अभिजित तानाजीकै सेटिङमा तस्करीको सुन किनेर ‘रिफाइनरी’ पसलबाट नक्कली बिल बनाई बिक्री गर्नेमा लक्की ज्वेलर्स मुछिएको छ । महाकाली ज्वेलर्स पनि तस्करीको सुन खरिद गरी अभिजित तानाजीमार्फत ‘रिफाइनरी’ गर्ने कार्यमा जोडिएको पाइएको छ । पशुपति ज्वेलर्समा पनि अभिजित तानाजीको सेटिङमा कारोबार हुने गरेको अनुसन्धानमा खुलेको छ ।

मुक्तिनाथ सुनचाँदी पसलका सञ्चालक मनोराज श्रेष्ठमाथि भने अशोक गायकवाड र धीरज दिनेश भोइटेसँग मिलेर तस्करीको सुन कारोबार गरेको आरोप छ । जय सन्तोषी माँ सुनचाँदी ज्वेलर्सले तस्करीको सुन किनेर बेच्ने कार्यमा संलग्न देखिएको छ । श्रीराम गुल्मेली सुनचाँदी पसलले तस्करीको सुन खरिद गरी बुटवलमा नक्कली बिल बनाई कारोबार गरेको पाइएको छ । शक्ति क्रिएसन र गढीमाई ज्वेलर्सले तस्करीको सुन खरिद गर्नुका साथै नक्कली बिलबाट कारोबार गरेको भेटिएको छ ।

हरेराम हरे कृष्ण सुनचाँदी पसलका सञ्चालक शिवकुमार सर्राफ हुन्, जसले तस्करीको सुन कारोबार गरेको खुलेपछि पसल गरी अर्कै नाममा सुन कारोबार गरेको पाइएको छ । गढीमाई ज्वेलर्सले शिवकुमार सर्राफमार्फत कारोबार गर्दै आएको थियो । शिवम् ज्वेलर्स चिनियाँ गिरोहबाट तस्करीको सुन खरिद र नक्कली बिलबाट कारोबारमा मुछिएको छ । यस्तै, गजानन ज्वेलर्सका सञ्चालक प्रशान्त गणेश बजबलकरले तोकिएका मानिसमार्फत सुनको अवै कारोबार गरेको देखिएको छ । यसबीचमा केही व्यवसायी र सुनचाँदी पसलका कर्मचारी पक्राउ परे, कोही फरार छन ।

अवैध सुनचाँदी कारोवार वीरगञ्जका को को छन ?

समाचार स्रोतका अनुसार सुनचाँदीको कारोवारमा वीरगञ्ज देखि विराटनगर सम्मका ३ दर्जन व्यवसायी प्रहरीको निगरानीमा छन् । वीरगञ्जका सुनचाँदी व्यवसायी अभिषेक सरार्फको नाउँ समेत चर्चामा छ । अभिषेक स्वर्ण रेफ्रेनरी कम्प्युटर प्राली, आर्दश स्वर्णकला केन्द्र, माँ बैष्णवी ज्वेलर्स, सरार्पm ज्वेलर्स उद्योग, श्री प्रभुराम ज्वेलर्स र विशाल स्वर्णकला केन्द्रको नाउँबाट अभिषेकले कारोवार गर्ने गरेको स्रोतको भनाई छ ।

त्यसैगरी वीरगञ्जका शंकर साह सोनारले सिवी ज्वेलर्स र शिवम् ज्वेलर्स, वीरगञ्जकै सन्दीप सरार्फले माँ दुर्ग ज्वेलर्स, माँ लक्ष्मी ज्वेलर्स, आर एण्ड सन्र्स र आरके बुलियन प्रालि मार्फत भएको कारोवारलाई समेत प्रहरीले निगरानी गरेको स्रोतको भनाई छ ।

वीरगञ्जका प्रदीप एण्ड सन्स ज्वेलर्सका संचालक रविन्द्र साह सोनार र केपी स्वर्णकला केन्द्रका संचालक कन्हैया साह सोनारको नाउँ समेत अवैध सुनको कारोवारीको लिष्ट रहेको छ । कन्हैया साह सोनार यसअघि पटक पटक प्रहरी र राजश्व अनुसन्धान कार्यालयले पक्रउ गरेर कार्वाहीमा परेका व्यवसायी हुन ।

पर्सा सुनचाँदी व्यवसायीका अध्यक्ष भूलन साह सोनार पनि सुनको अवैध कारोवारमा संलग्न रहेको स्रोतको भनाई छ । उनीहरुको गतिविधिलाई प्रहरीले निगरानी बढाएको छ । भूलनले विभिन्न कम्पनीको नाउँबाट कारोवार गरेपनि उनले समेत वीरगञ्जका अन्य व्यवसायीलाई सुन नदिएर भारत तर्फ तस्करी गर्ने गरेको आरोप व्यवसायीहरुले नै लगाउने गरेका छन् ।

सुनको अवैध कारोवारमा जनकपुरका व्यवसायी

जनकपुरका सुनचाँदी व्यवसायी धिरज साह, सञ्जय साह सोनार, दीपेन्द्र साह र प्रदीप साह सोनारको नाउँ सुनचाँदीको अवैध कारोवारमा संलग्न रहने व्यवसायीको सूचिमा रहेको स्रोतको भनाई छ ।

जनकपुरका धिरज साहले डिएस इन्टरनेशनल, जनकपुर गोल्ड सप, न्यू शिवगंगा ज्वेलर्सको नाउँबाट कारोवार गर्दै आइरहेको प्रहरी स्रोतको भनाई छ । जनकपुरकै संजय साह सोनारले दिना ज्वेलर्स, माला ज्वेलर्स र श्री ज्वेलर्स कम्पनीको नाउँबाट सुनचाँदीको अवैध कारोवार गर्दै आइरहेको सूचनाको आधारमा प्रहरी निगरानीमा रहेको स्रोतले जनाएको छ ।

त्यसैगरी जनकपुरका दीपेन्द्र साहले लक्ष्मी दीप टेड्रस, सिन्जीनी मार्कन्डीस, श्री शुभांग इन्टरनेशनल र सुन्दर ज्वेलर्स प्रालीको नाउँमा सुनचाँदीको कारोवार गर्दै आएका छन् । प्रदीप साह सोनारले लिला ज्वेलर्स र श्री जानकी ज्वेलर्सका नाउँमा कारोवार गर्दै आएकोले उनको कारोवारलाई समेत प्रहरीले निगरानी राखेको बुझिएको छ ।

बार्षिक २० हजार किलो सुन तस्करी

खुला सीमाना र राज्यको गलत नीतिका कारण बार्षिक २० हजार किलो काँचो सुन अवैध मार्ग भएर नेपाल भित्रिने गरेको छ । तस्करीको कारण राज्यलाई बार्षिक ३४ अर्ब राजश्व नोक्सान हुदै आएको छ । सुनमा २० प्रतिशत भंसार राजश्व लाग्ने गरेको छ ।

भारत लगायत तेश्रो मूलुकबाट बार्षिक ३ हजार किलो सुनका तयारी गहना नेपाली बजारमा कारोवार हुनेगरेको व्यवसायीहरुको भनाई छ ।
राष्ट्र बैंकको नियन्त्रणले नेपाली बजारमा पयाप्त सुन पाँउन नसक्दा अवैध मार्ग भएर भित्रिएको सुन किन्नु परेको गुनासो व्यवसायीहरुको छ । नेपाली बजारमा बार्षिक १५ हजार किलो सुन खपत हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यको भनाई छ ।

काठमाडौं उपत्यकामा दैनिक ३० देखि ३५ केजी सुनका गहनाको कारोवार हुनेगरेको शाक्यले बताए । बैंकले दिएको सुनले मात्र बजार थेग्न सकिदैन, शाक्यले भने “अवैध मार्ग भएर आएको सुन नलिने हो भने व्यवसाय चलाउन मुस्किल हुन्छ ।” व्यवसायीहरुको भनाई अनुसार नेपाली बजारमा बार्षिक १५ देखि १८ हजार किलो काँचो सुन र तयारी गहनाको कारोवार हुन्छ ।

राष्ट्र बैंकले तोकेकै मापदण्ड अनुसार दैनिक २० किलो काँचो सुन बैंकले आयात गर्न पाउँने छ । यसरी हेर्दा बार्षिक ७ हजार ३ सय केजी सुन बैधानी मार्ग भएर नेपाल भित्रिन सक्छ । तर भंसार विभागको तथ्यांक हेर्ने हो भने गत आर्थिक बर्षमा २ हजार ६ सय केजी सुन मात्र बाणिज्य बैंकहरुले आयात गरेको देखिन्छ ।


सम्बन्धित समाचार