Logo

२८ साउन,वीरगञ्ज । पर्सा सुनचाँदी व्यवसायी संघले जिल्ला प्रशासन कार्यालयको निर्देशनको अटेरी गरिरहेको गुनासो छ । जिल्ला प्रशासन कार्यालय पर्साले विवाद सुल्झाएर अधिवेशन गर्न निर्देशन दिएपनि वर्तमान नेतृत्वले त्यसको अटेरी गरेरहेको सुन चाँदी व्यवसायीहरुले गुनासो गरेका छन् ।

सुनचाँदी व्यवसायी प्रवेश सर्राफले साधारण सभा गर्ने समय नजिक्दा पनि वर्तमान नेतृत्वले जिल्ला प्रशासनले लेखेको पत्रलाई लत्याइरहेको बताए । उनका अनुसार पत्रमा कारबाही गरिएका सदस्यहरुको कारबाही फिर्ता लिएर सदस्यता नवीकरण गर्ने भनिएको छ ।

तर साधारण सभा गर्ने समय चार दिन बाँकी रहँदा पनि अहिलेसम्म वर्तमान नेतृत्वले सदस्या विवाद नसुल्झाएको उनको आरोप छ । संघ पर्साको अध्यक्ष भुलन सर्राफले जिल्ला प्रशासनले दिएको निर्देशन पालना नगरेपछि विवाद कायमै रहेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालयले लामो समयदेखि संघको आन्तरिक विवाद सुल्झाउन ७ बुँदे निर्देशन दिएको थियो । प्रशासनले तोकिएको समयमा साधारण सभा गर्ने देखि लिएर अन्य ७ बुँदे निर्देशन जारी गरेको छ ।

जसको पाँच नम्बर बुँदामा जिल्ला प्रशासनको कार्यालयले यसअघि संघबाट कारबाही गरिएका दुइ जना नियम अनुसार नभएको ठहर गरेको छ । निर्देशनमा भनेको छ– सदस्यहरुलाई कारबाही गर्ने सम्बन्धमा दफा ३८ (क) मा सबै भन्दा पहिले भैसकेको कार्य गर्न नगराउन लिखितरुपमा सूचित गर्ने, सूचित गर्दा पनि आदेशको पालना नगरेमा संघबाट प्रदान गरिएको सेवा कटौती गर्ने, सुविधा र अन्य सेवा कटौती गर्दा पनि भूल स्वीकार गरी त्यस्तो कार्य नगर्ने लिखित प्रतिवद्धता जाहेर नगरी निरन्तर सोही कार्य गरेमा ३ महिनादेखि १ वर्षसम्म सदस्यता निलम्बन गर्न र निलम्बन गर्दा पनि व्यवसायिक आचरण, निर्देशन, विधान र नियमविपरीत कार्य गरेमा सदस्यता शुल्क जफत गरी सदस्यता खारेज गर्ने व्यवस्था छ ।

‘तर संघले कारबाही गरेको जयप्रकाश थारु र लक्ष्मण साहको हकमा त्यस्तो देखिएको छैन, दर्फा ३८ (क) को प्रक्रिया पूरा नभएकोले देखिन्छ । त्यसकारणको संघको सदस्यले पाउने अधिकार सुरक्षित गरी विधान बमोजिम निजहरुको सदस्यता नवीकरण गर्न निर्देशन छ,’ जिल्ला प्रशासन कार्यालयको निर्देशनमा भनिएको छ ।

तर संघका अध्यक्ष भुलन सर्राफले भने सिडिओको पत्रलाई बेवास्ता नगरेको बताए । उनले भने, ‘आज बल्ल पत्र प्राप्त भएको छ, म बाहिरै छु । कार्यालयमा गएर अब त्यसमाथि छलफल हुन्छ । समितिले जे निर्णय गर्छ त्यही अनुसार प्रक्रिया अगाडि बढाउछु ।’


सम्बन्धित समाचार