Logo

२८ साउन,काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गरेका छन्।

मन्त्रालयमा सोमबार भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरुका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनाहरु लगायतका विविध विषयमा छलफल भएको थियो।

वार्ताका क्रममा मन्त्री डा राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिश्रीमार्फत् भारतसँग कुरा उठाएकी थिइन्।
त्यस भेटका क्रममा मन्त्री डा. राणाले नेपाल र भारतका सीमा क्षेत्रहुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाएकी थिइन्।

सो भेटवार्ताका क्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा मन्त्री डा राणाले उठाएको विषयमा यसका धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल भएको थियो।

त्यसैगरी मन्त्री डा राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाडगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिस्रीमार्फत् भारत सरकारसँग कुरा उठाउँदै दार्चुलाको पुल उद्घाटनबारे पनि प्रसंग उठाएकी थिइन्।

साथै सो शिष्टाचार भेटकाक्रममा मन्त्री डा राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुराकानी गरेकी थिइन्।
मन्त्री डा राणाले जाजरकोट भूकम्पमा परेका पीडितहरुको उद्धार र सहायताका लागि भारत सरकारको सहयोगप्रति धन्यवाद ज्ञापन गरिन्।


सम्बन्धित समाचार