Logo

२८ साउन,वीरगञ्ज । मधेस प्रदेशको राजधानी जनकपुरमा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । मधेश सरकारले ठूलो सङख्यामा मन्त्रीमण्डल विस्तार गरेको विरोधमा आज जनकपुरमा जुलुस निकालिएको थियो ।

सोही क्रममा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो । जनता समाजवादी पार्टी नेपाल निकट विद्यार्थीहरुले आज निकालेको ‘सिटी’ जुलुसमा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल भएको हो । सिटी जुलुसमा सहभागी विद्यार्थीहरुले प्रहरी सुरक्षा घेरा तोड्दै जुलुस प्रदर्शन गर्न खोजेपछि विवाद सुरु भएको हो ।

त्यसअघि जनकपुरको भानुचोकबाट निस्किएको जुलुसले नगर परिक्रमा गर्दै मुख्यमन्त्री कार्यालय गेटसम्म पुगेको थियो । मिल्स एरियामा प्रहरीले लगाएको सुरक्षा घेरा तोडेर अगाडी बढ्न खोज्दा विवाद उत्पन्न भएको समाजवादी युवा संघ धनुषाका जिल्ला अध्यक्ष दिपु कापरले जानकारी दिए ।

जनमत नेतृत्वको प्रदेश सरकारको गतिविधिको विरोध गर्दै जुलुसले सुरक्षा घेरा तोड्दै रेल्वे लिकसम्म पुगेको थियो । मधेश सरकारले संघीयता विरोधी गतिविधिमा लागेको भन्दै जसपा नेपाल निकट विद्यार्थीहरुले चरणबद्ध आन्दोलनको घोषणा समेत गरेको छ ।

प्रदेश सरकारले एक साता अगाडि ८ राज्यमन्त्री थप्दै २० सदस्यीय मन्त्रीमण्डल विस्तार गरेको थियो । सरकारले मन्त्रीमण्डल विस्तार गरेपछि पछिल्लो समय चर्को आलोचना भइरहेको छ । साथै प्रदेश सरकारको गतिविधिको विरोधमा प्रर्दशन समेत भइरहेका छन् ।


सम्बन्धित समाचार