Logo

२९ साउन,वीरगञ्ज । बारा जितपुर सिमरा उपमहानगरपालिकास्थितको सरकारी स्कुलमा वडाअध्यक्षले शिक्षकसंग दुव्र्यहार गरेपछि विवाद भएको छ । उपमहानगरको वडा नम्बर २ का वडाअध्यक्ष धनबहादुर श्रेष्ठले शिक्षक सिता अधिकारीसंग स्कुलमा दुव्र्यहार गरेपछि मेयर राजन पौडेलसंग घम्साघम्सी भएको हो ।

मेयर पौडेलले शिक्षक अधिकारीको हातबाट किन हाजिर रजिस्टर खोसिएको भन्दै प्रश्न गरेपछि वडाअध्यक्ष श्रेष्ठ र मेयर पौडलबिच घम्साघम्सी भएको हो । शिक्षक अधिकारीले हाजिर गर्न खोज्दा हाजिर रजिस्टर खोसेर उल्टै दुव्र्यहार गरेको सूचना पाए लगत्तै स्कुलमा मेयर पौडेल पुगेका थिए ।

प्रधानाध्यापकले हाजिर गराइसकेको शिक्षकलाई हाजिर गर्न तथा कक्षा पढाउनबाट रोक्न नमिल्ने बताउँदै हाजिर रजिस्टर मागेपछि वडाअध्यक्ष श्रेष्ठ र मेयर पौडेलबिच विवाद भएको जनाइएको छ ।
विवाद उग्र हुँदा वडाअध्यक्ष श्रेष्ठ र मेयर पौडेलबिच घम्साघम्सीसमेत भएको प्रहरी बताउँछ ।

जितपुरबाट यही जेठ १७ गते नगर शिक्षा समितिले दरबन्दी मिलान तथा व्यवस्थापनको निर्णय अनुसार सिमरास्थितको स्कुलमा सरुवा गरेको थियो । सरुवा निर्णयको भोलीपल्टै उपमहानगरले स्कुललाई पत्रचार गरेर हाजिर गराउन निर्देशन समेत दिइसकेको थियो ।

तर यही बेलामा वडाअध्यक्ष श्रेष्ठले भने विद्यालय व्यवस्थापन समितिले मिलामतोमा शिक्षक अधिकारीलाई स्कुलमा हाजिर नगराउने निर्णय गराएका थिए । त्यसको बाबजुद पनि स्कुलको प्रधानाध्यापकले भने उनलाई ६ असारमा हाजिर गराएका थिए ।

शिक्षक अधिकारीलाई स्कुलमा हाजिर गराएपनि व्यवस्थापन समिति तथा वडाअध्यक्षले कक्षामा पढाउन नदिने र हाजिर लुकाइदिने जस्ता गतिविधि गर्दै आइरहेको आरोप छ । स्कुलमा हाजिरको सवालमा विवाद चर्किएपछि विवाद सुल्झाउन जिम्मा भने आज प्रधानाध्यापकलाई लगाइएको उपमहानगरको कार्यालयले जानकारी दिएको छ ।


सम्बन्धित समाचार