Logo

३० साउन,वीरगञ्ज ।  पर्सा जिल्ला बढी मुद्दा दर्ता हुने जिल्लाको रेड ‘जोन’ मा छ । गएको तीन आर्थिक वर्षमा मात्र प्रहरीमा ५ हजार भन्दा बढि मुद्दा दर्ता भएका छन् । प्रहरीले सार्वजनिक गरेको एक तथ्यांक अनुसार वितेको तीन वर्षमा ५ हजार ८५६ वटा विभिन्न खाले मुद्दा दर्ता भएको देखिएको छ ।

विभिन्न ७६ वटा शीर्षकहरुमा ती मुद्दाहरु दर्ता भएका प्रहरीले जानकारी दिएको छ । आव ०७८/०७९ देखि ०८०/०८१ सम्ममा सबैभन्दा बढी मुद्दा ०७९/०८० मा दर्ता छ । यो वर्ष २ हजार २७२ वटा मुद्दा दर्ता भएका प्रहरी विवरण छ । यस्तै ०७८/०७९ मा १ हजार ८०३ र ०८०/०८१ १ हजार ७८१ मुद्दा प्रहरीमा दर्ज छन् ।

प्रहरीमा दर्ता मुद्दाहरुमध्ये केहिमा भने फछ्र्यौटसमेत गरिएको जनाइएको छ । प्रहरीले सोही अवधिमा ५ हजार १८२ वटा मुद्दा भने फछ्र्यौट गरेको जानकारी दिएको छ । यो तीन वर्षको अवधिमा अझ ६५४ वटा मुद्दा भने अनुसन्धानकै दौरानमा रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले ०७९/०८० सालमै सबैभन्दा बढी सङख्यामा मुद्दाको किनारा लगाएको जानकारी दिएको छ । अर्थात् ०७९/०८० मा प्रहरीले दुई हजार २२ वटा मुद्दा फछ्र्यौट गरेको छ । यसैगरी ०७८/०७९ मा १ हजार ७७४ र ०८०/०८१ एक हजार ४०६ दर्ता मुद्दाको फछ्र्यौट भएको प्रहरी अभिलेख छ ।

कुन अपराध बढी ?

पर्सा प्रहरीको विवरणमा यो तीन वर्षमा एउटै प्रकृतिका मुद्दामा मात्र दर्ता छैनन्, फरकफरक शीर्षकमा मुद्दा दर्ता छन् । जिल्ला प्रहरीको अभिलेखमा ७६ शीर्षकमा मुद्दा दर्ताको रेकर्ड छ । त्यसमध्ये टप ५ मा पर्ने मुद्दाहरु यहाँ केलाइएको छ ।

यो तीन वर्षको अवधिमा बढी सार्वजनिक शान्ति विरुद्धको कसुरको शीर्षकमा मुद्दा दर्ता छन् । प्रहरीको विवरण अनुसार यो शीर्षकमा तीनवर्षमा मात्रै १ हजार ८०४ वटा मुद्दा छन् । त्यसपछिको दोस्रो सूचिमा बैंकिङ कसूरको छ ।

यो शीर्षकमा १ हजार २८९ वटा मुद्दा छन् । यो दुइवटा शीर्षकसंगै लागु औषधको अपराध जिल्लामा ५ नम्बरभित्र हुने अपराधको शीर्षकमा छ । प्रहरीमा लागु औषधको ७५९ मुद्दा, चोरीका ३३१ र झुण्डिएर आत्महत्या शीर्षकमा २९९ मुद्दा दर्ता रहेको पर्सा प्रहरीको भनाइ छ । ।

पर्सामा कति शीर्षकमा मुद्दा आउँछ ?

ठगी/संगठित अपराध, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, सवारी ज्यान, ज्यान सम्बन्धि, नागरिकता, विष सेवन गरी आत्महत्या, फुटकर ज्यान र कर्तव्य ज्यान लगायतका शीर्षकमा मुद्दा दर्ज छन् ।
यसैगरी सवारी अंगभंग तथा अपहरण तथा शरिर बन्धक, कुटपिट अंगभंग, बहुबिवाह, गर्भपतन, आत्महत्या दुरुत्साह, लागु औषध, हातहतियार खरखजाना लगायत गरी ७६ कसुरमा उजुरी दर्ता गर्दा ती सङख्या पुगेको पर्सा प्रहरीले जनाएको छ ।

यसकारण अपराध बढ्दो ?
प्रहरीले जिल्लामा आपराधिक गतिविधि बढेको स्विकार गरेको छ । पर्सा प्रहरीका प्रहरी नायब उपरिक्षक प्रवक्ता दिपक भारतीले जिल्लामा गत वर्ष अपराध बढेको बताए ।

उनले भने, ‘पछिल्लो समय विशेष गरी सार्वजनिक अपराध बढ्दो छ, झैझगडा, समाजमा उच्छृङ्खल गतिविधि बढ्नु, कुटपिट, आर्थिक समस्या, लेनदेन, सामाजिक सञ्जालको गलत प्रयोग यसको मुख्य जडको रुपमा देखिएको छ । तर त्यसको बाबजुद प्रहरीको सक्रियताकै कारण ती अपराधीहरु भने कानुनी दायरामा पनि आएका छन् ।’

प्रहरीका अनुसार अझ मुद्दा दर्ता गरिएको संख्या त सहमति नभएका घटनाहरुको हो । ‘कतिपय मुद्दा त मिलापत्र गरेर पठाइन्छ, जुन यहाँ उल्लेख छैन । त्यो राखियो भने यो संख्या अझ बढेर जानेछ,’ उनले भने ।
नागरिकलाई सचेत बनाउन तथा अपराध निर्मूलीकरण गर्न सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने गरेको प्रवक्ता भारतीको भनाइ छ ।


सम्बन्धित समाचार