Logo

३० साउन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयता र गणतन्त्रको मूल्य, मान्यताविपरीत संविधान संशोधन हुन नसक्ने स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले स्वस्थ्य प्रतिस्पर्धासहितको लोकतान्त्रिक प्रणाली आफूहरुले सङ्घर्ष गरेर र रोजेर ल्याएकाले देश र जनताका हितलाई सर्वोपरी राखेर यस प्रणालीलाई स्थापित गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट गर्नुभयो ।

“प्रतिगमनका लागि संविधान संशोधन हुँदैछ भनेर केही भ्रम फैलाउन खोजिएको छ । हामीले जेका लागि सङ्घर्ष गरेका छौँ र सपथ लिएका छौँ । वाचाबन्धन गरेका छौँ । हामीले नै लोकतान्त्रिक प्रणाली मासेर जान सक्दैनौँ । हाम्रो विश्वास लोकतन्त्रमाथि भएकाले नै लोकतन्त्रका लागि टाउको र गर्धन थापेर हामी लडेर आएका हौँ, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “संविधान संशोधनीय दस्तावेज हो ।

लोकतन्त्रको मूल्य, मान्यतालाई अझ बढी सुदृढ र समयानुकूल गर्न तथा जनताका लागि सेवा र सुशासन प्रभावकारी रुपमा दिन सकिने गरी देश र जनताको आवश्यकताका आधारमा यसको संशोधन गर्न सकिन्छ । तर यो संविधानको अवयवका रुपमा रहेका संघीयता र गणतन्त्रका विषयमा प्रतिकूल हुनेगरी संशोधन हुन सक्दैन । संशोधन गर्दा राजनीतिक र बौद्धिक छलफलका साथै सदनको दुुई तिहाइ र सर्वस्वीकार्यताका पक्षलाई ध्यानमा राखेर संशोधन ल्याइनेछ ।”

प्रधानमन्त्री ओलीले गन्तव्यबिहीन आन्दोलन र समाज भड्काउने प्रयासबाट कहीँ नपुगिने स्पष्ट गर्दै यस व्यवस्था कार्यान्वयनका केही कमजोरीका विषयलाई अतिरञ्जना गरेर प्रणालीविरुद्ध जाने खालका अभिव्यक्ति उपयुक्त नभएको बताउनुुभयो । प्रधानमन्त्री ओलीले सदनमा सांसदहरुले अभिव्यक्ति दिँदा अरुले अनुशरण गर्न मिल्नेगरी दिनुपर्नेतर्फ पनि ध्यानाकर्षण गराउनुुभयो ।


सम्बन्धित समाचार