Logo

३० साउन,काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले आफ्नो नाम जोडेर खोलिएका अनधिकृत सामाजिक सञ्जाल (फेसबूक पेज) हटाई त्यस्ता प्रयोगकर्तालाई आवश्यक कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पुनः आग्रह गरेकी छिन् ।

उपमेयर डंगोलले ब्युरोलाई पत्रमार्फत पुनः आग्रह गरेको उनको सचिवालयले बुधवार विज्ञप्तिमार्फत जनाएको छ ।

त्यस्ता पेज बन्द गर्न यसअघि पनि आग्रह गरिएको भएपनि अहिलेसम्म बन्द नभएको र विभिन्न सामग्री प्रकाशन भइरहेको भन्दै डंगोलले पुनः ब्युरोलाई पत्र लेखेकी हुन् ।
‘गत जेठ १३ र असार २५ गते केही फेसबूक पेजलाई बन्द गर्न पत्राचार गरेको तर अहिले पनि ती सामाजिक सञ्जाल प्रयोगमै रहेको पाइएको छ,’ पत्रमा भनिएको छ ।

एआई प्रविधिबाट तस्वीर र भिडियो एनिमेसन गरेर सामाजिक सञ्जालमा पोस्ट गरी आफ्नो चरित्रहत्या भइरहेको उपमेयर डंगोलको गुनासो छ ।

‘एआई प्रविधिबाट फोटो तथा भिडियो एनिमेसन गरी सामाजिक सञ्जालहरूमा हाली व्यक्तिको चरित्रहत्या गर्नेसम्मका कार्य भइरहेको छ,’ पत्रमा उल्लेख छ, ‘यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडियो, फोटो तथा समाचार हाटाइदिनुहुन र त्यस्ता गैरकानूनी ढंगबाट समाजमा गलत गतिविधि गर्नेलाई कानूनबमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन पुनः अनुरोध गर्दछु ।’


सम्बन्धित समाचार