Logo

३१ साउन,वीरगञ्ज । मधेश सरकारका मुख्यमन्त्री सतिस सिंह नेतृत्वको मन्त्रीमण्डलले आज जनकपुरमा प्रयोगविहीन सरकारी भवनहरुको अनुगमन गरेको छ ।

मधेश सरकारको क्याबिनेटले प्रयोगविहीन दुइवटा सरकारी भवनहरुको स्थलगत अनुगमन गरेको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ । जनकपुरको नक्टाझिभस्थित कृषि निर्देशनालय र मुजेलियास्थित मणिपाल भवनको प्रदेश सरकारले अनुगमन गरेको हो ।

प्रदेश सरकारसंग भवनको अभाव भएकोले विकल्पमा प्रयोग गर्नका लागि सरकारी स्वामित्वमा रहेका प्रयोगविहीन भवनहरुको अनुगमन गरिएको मुख्यमन्त्री सिंहले बताए । जनकपुरस्थितका प्रयोगविहीन तथा जीर्ण भवनहरुको मधेश सरकारको क्याबिनेटले दुइवटै भवनको वस्तुस्थिति बुझ्ने काम गरेको मुख्यमन्त्री सिंह बताउँछन् ।

उनी भन्छन्, ‘प्रदेश सरकारमा चारवटा मन्त्रालयहरु ‘रेड जोन’ मा छन्, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राहीको चाँप अनुसार पर्याप्त ठाउँ छैन् । त्यसकारण यी दुइ ठाउँको विकल्पका लागि प्रयोगविहीन सरकारी संरचनाको अवलोकन गरिएको हो ।’

उनी भन्छन्, ‘आज सबै मन्त्रीज्यूहरु सल्लाह गरेर अनुगमनमा निस्केका हौं, अनुगमन पनि गरियो । अब यी कार्यालयहरु संघीय सरकार मातहत छन् । समन्वय गरेर प्रदेश सरकारले विकल्पमा प्रयोग गर्ने योजना बनाउने छ । संघीय सरकारले सहमति दिएमा सबै जीर्ण भवनहरुलाई मर्मत तथा व्यवस्थित गरेर प्रयोगमा ल्याउछौं ।’


सम्बन्धित समाचार