Logo

३१ साउन,वीरगञ्ज । पर्सामा सानो उमेरका बालबालिकाहरु बढी विरामी पर्न थालेका छन् । वीरगन्जको नारायणी अस्पतालको विवरणले सानो उमेरका बालबालिकाहरु बढी विरामी पर्न थालेको देखाइरहेको छ ।

नारायणी अस्पतालले चेकजाँचका लागि आउने बालबालिकाको संख्यामा करिब डबलले वृद्धि भएको जानकारी दिएको छ । मौसममा आएको परिवर्तन कारण अस्पतालमा चेकजाँचका लागि आउने बालबालिकाको सङख्यामा वृद्धि भएको अस्पतालको विश्लेषण छ ।

कहिले घाम त कहिले पानी पर्नाले बालबालिका बढी संख्यामा विरामी पर्न थालेको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनका अनुसार अहिले चेकजाँचका लागि औषतमा १० देखि १५ जना बालबालिका आउने गरेका छन् । यद्यपी सामान्य अवस्थामा भने यो संख्या ६ जनामा सीमित रहने गरेको छ ।

के–के समस्या देखिएको छ ?

मौसमको फेरबदलका कारण खासगरी १५ वर्ष मुनिका बालबालिकाहरु प्रभावित भइरहेका छन् । उनीहरुमा तीन रोगले बढी ग्रसित भइरहेको देखिएको छ ।
बालरोग विशेषज्ञ डा.शैलेश ठाकुरका अनुसार सानो उमेरका बच्चाहरु उच्च ज्वरो, झाडापखाला र निमोनियाबाट बढी ग्रसित भइरहेका छन् । उनले भने, ‘सामान्य अवस्थाका बालबालिकाहरुलाई उपचारपछि घर पठाइदिरहेका छौंं, तर जटिल अवस्थाको विरामीलाइ भने निगरानीमा राखिरहेका छौं ।’

चेकजाँचका लागि आउने बालबालिकामध्ये कम्तीमा दुइजनालाई भर्ना गर्नुपर्ने अहिले अवस्था रहेको उनको भनाइ छ । करिब ६ महिनादेखि १५ वर्ष सम्म उमेर समूहका बालबालिकाहरुमा विशेषगरी यो समस्या देखिएको चिकित्सकहरुको भनाइ छ ।

बढ्दो गर्मी तथा मौसममा आएको परिवर्तन, ‘फुड पोइजनिङ’ लगायतका कारण बालबालिकाहरु बिरामी हुने क्रम बढिरहेको जनाइएको छ । त्यसकारण अहिलेको समयमा बालबालिकाहरुलाई स्वस्थ्य तथा ताजा खानपानमा ध्यान दिन चिकित्सकहरु सुझाउ छन् ।

नारायणी अस्पतालको ओपीडीमा अहिले दैनिक १ सयको हाराहारीमा बालबालिकाहरु चेकजाँचका लागि आउने गरेको अस्पताल प्रशासन शाखाले बताएको छ ।

 


सम्बन्धित समाचार