Logo

३ भदौ, वीरगञ्ज । विषतोडक पर्वको रुपमा परिचय बनाएको रक्षाबन्धन पर्व, गुरुपुरोहितका हातबाट रक्षासुत्र बाँधेर तथा दिदिबहिनिबाट राखी बाँधेर मनाईंदै छ । गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) रक्षाबन्धन बाँध्छन् भने नवयज्ञोपवीत जनै एवम् रक्षाबन्धन धारण गर्दैछन् ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन बाँधेका हात साँच्चै मानविय कार्यमा प्रयोग भएका छन् वा दानविय कार्य गरेर मुस्कुराउँदै छन् त ? यो आजको बहसको विषय हो ।

गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । रक्षाबन्धन यस्तो सांकेतिक बन्धन हो, जसले हामीलाई नराम्रो काम गर्न, नराम्रो विचार राख्न, नराम्रो चिन्तन गर्न, नराम्रो खानपान गर्नबाट नियन्त्रण गर्छ ।

विजयोत्सवको रुपमा पर्वहरु मनाउने हरेक समुदायले रक्षाबन्धन बाँधेपछि मन, वचन र कर्मलाई पनि पवित्र बनाउनुपर्छ । यो आत्म अनुशासनको एउटा विधी हो । सांसारिक मोहको बन्धनदेखि छुटकारा लिएर ईश्वरीय बन्धनमा बाँधिने एउटा अवसर पनि हो ।

पौराणिक कथाले दर्शाउँछ “देवराज इन्द्र र दैत्यराज वृत्तासुरबीचको १२ बर्षसम्म भयानक युद्धमा असुरहरुले देवतामाथि विजय प्राप्त गरे । पराजित देवगण धर्म एवं संस्कारविहिन जीवनयापन गर्न थालेपछि इन्द्रले पुनः अन्तिम युद्धको संकल्प गरेको दिन श्रावण शुक्ल चर्तुदशीको दिन रहेको र देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजयको कामना गरी श्रावणमासको पूर्णिमाको शुभमूर्हुतमा इन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए ।”

दानवरुपी प्रवृत्तिलाई नियन्त्रण गर्ने सांकेतिक पर्व
धार्मिक प्रसंग भन्दा फरक आजको आधुनिक समाज छ । छिमेकी मुलुक भारतमा ३६ घण्टा काम गरेकी स्वास्थ्यकर्मी आराम गर्नै नपाई लुछिइन्, चिथोरिइन्, पटक पटक बलात्कृत भइन्, क्षतविक्षत अवस्थामा मारिइन्, यो कुकर्म गर्नेको मनमा थोरैपनि मानवता, दयाभाव, लज्जा नभएको देख्दा मानवले स्वयं उपर विजय पाउनु पर्ने देखिन्छ ।

यसर्थ पनि आफ्नै दानवरुपी प्रवृत्तिलाई बाँधेर वा नियन्त्रणमा राखेर त्यसमाथि विजय हासिल गर्ने सांकेतिक पर्व रक्षा बन्धन आजको समयमा आवश्यक छ । अर्थात् हामी पथभ्रष्ट भएर गएका छौं । कुविचार, कुसंस्कार, कुदृष्टिले हामीलाई दानव बनाइरहेको छ ।

तामासिक खानपान, समाजिक सञ्जालको दुरुपयोग, बढि महत्वाकाँक्षी स्वभाव, अव्यवस्थित रहनसहनले हामीमा धैर्यता, लज्जापन, संस्कारलाई नष्ट गर्दैछ । तसर्थ आजको समयमा आफ्नै खराब प्रवृत्तिमाथि नियन्त्रण राख्नका लागि वा त्यसबाट सुरक्षित रहनका लागि रक्षाबन्धन बाँध्नु र यसको मर्म जोगाउनु हरेकको दायित्व भित्र पर्छ ।

हिंसा, दुव्र्यवहार, यातना, बलात्कार जन्य घटनाले मर्न वा मारिन बाध्य चेलीको रक्षामा दाजुभाइको संलग्नता बढोस् भन्ने भाव राखीले दर्शाउँछ ।

मेसिनबाट बनाइएका रङ्गीचङ्गी राखिको डोरमा बाँधिदै आजका युवापुस्ताहरु

खासमा रक्षाबन्धनका दिन दिदी बहिनीले आफ्ना दाजुभाइलाई हातमा राखी बाँधिदिने प्रचलन छ । दिदिबहिनिको रक्षार्थ दाजुभाइको हात सदैव तत्पर रहोस् भन्ने कामना सहित राखि बाँध्न दिबिहिनिहरु दाजुभाइको घर पुग्दैछन् ।

दिदिबहिनिको हातैले रेशमको डोरी प्रयोग गरी प्रेमभाव साथ बनाएको राखिको प्रचलनको परिवर्तित स्वरुपका रेडिमेड रंगीचंगी राखी, फलफूल, थरीथरीका मिठाईहरु किनबेच गर्नेको भिड बजारमा बढेको छ ।

पछिल्लो समय गाउँघरमा जनै र राखि बनाउने प्रचलन हराउँदै जाँदा रेडिमेड बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ ।

अहिलेका युवापुस्ताले जनै र राखि बनाउन खासै चासो नदिँदा आफैले जनै र राखि बनाउनेक्रम हराउँदै गएको बहुदरमाई नगरपालिका २ निवासी रजनी देवीले बताउँछिन् ।

रेडिमेड सुलभ मूल्यमा बजारमा किन्न पाउँदा अहिलेका युवापुस्ताहरु यस कार्यमा चासो नदेखाएका ह्ुन् । उनले भनिन् “केही वर्ष अगाडीसम्म गाउँघरमा जनै र रक्षासूत्र बनाएर आफन्तलाई बाँड्ने चलन थियो तर अब त्यो हराउँदै गएको र बजारबाट खरिद गरि ल्याइएका रङ्गीचङ्गी राखिको डोरमा आजका युवापुस्ताहरु बाँधिदै छन् ।”

“केही वर्ष अगाडी सम्म राखि पर्व आउन १०/१५ दिन अगावै रक्षासुत तयार पार्न दीदीबहिनीहरु जुट्थे । दीदीबहिनीहरुले बजारबाट धागो किनेर ल्याई आफ्नै हातले जनै र राखि तयार गर्दथे । यही मात्र नभई ती रक्षासुत, जनै बाँड्ने चलन पनि थियो जसले समाजमा एकआपसमा माया स्नेह पनि बढ्थ्यो ।”

अहिले ३५ मनोज यादव बहुदरमाई नगरपालिका २ निवासी हुन् । उनी १२ वर्षको हुँदा पुरोहित ब्राह्मण आएर रक्षासूत्र जनै बाँध्ने गरेको बताए । त्यसबापत दक्षिणा स्वरुप सिधा (चामल) लिएर जाने गरेको उनको तर्क छ ।

उनले भन्छन् “त्यो बेला अहिलेका जस्तो रङ्गीचङ्गी राखि थिएन, विभिन्न धागा र रुई (कटन) बाट तयार पारिएका रक्षासूत्र हुन्थे । रक्षासूत्र बाँधेर पुरोहित ब्राह्मणले आशिर्वाद दिदाँ मन प्रफुलित हुन्थ्यो ।” अहिलेका रङ्गीचङ्गी राखिले देखावटीपन दर्साएको भनाई मनोज यादवको छ ।

क्वाँटीको महत्व
क्वाँटी जनैपूर्णिमा विशेष परिकार हो । बर्खाभरि खेतिपातीमा खटिँदा थाकेको शरीरलाई स्फूर्त बनाउनका लागि जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ ।

चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ जस्ता नौ गेडगुडीको मिश्रणलाई चार दिन भिजाएर टुसा उमारेर क्वाँटी खाइन्छ । टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् । शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता छ ।

क्वाँटी रेसादार खानाको स्रोत भएकोले यसले कब्जियतको समस्या हटाउने, बूढो हुने गति मन्द पार्ने, सुन्दर स्वस्थ र रोगमुक्त पार्ने, तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिने गर्छ । यो सजिलै पाच्य हुने भएकोले पेटमा अनावश्यक वायु बनाउँदैन ।

क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ भने रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउने क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।

टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हन्छ जसले मानसिक स्वास्थ्यमा सुधार, रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ । क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्नुका साथै । पाचनशक्तिमा सुधार ल्याउँछ ।

गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा निखार आउने कुरालाई ध्यान दिंदै क्वाँटीको प्रयोगलाई बढाउँदा उचित हुने चिकित्सकहरु दावी गर्छन् ।


सम्बन्धित समाचार