Logo

४ भदौ,सेढवा । वर्षेबाली धानको गोडमेलमा पर्साको ग्रामीण भेगका किसान व्यस्त देखिएका छन् । विशेष गरी जिल्लाको गण्डक नहरभन्दा उत्तरतर्फ रहेका थरुहठ क्षेत्रका किसानलाई विभिन्न प्रजातीका धानबाली गोडमेल गर्न भ्याइ नभ्याइ भएको हो ।

अहिले किसान भदई मंसुली, मनी मंसुली, सोना मंसुली तथा हाईब्रिड जातका धानबाली गोडमेलमा व्यस्त छन् । रोपाईको समयमा पानी नपरेको तर रोपाई पछि पानी पर्दा खेतमा अन्य झारपात नभए पनि आलीमा झारपात लागेकोले त्यसको सरसफाइमा किसान जुटेका छन् ।

जगरनाथपुर गाउँपालिका वडा नं. ३ महेन्द्र रामले खडेरीका कारण निकै समस्या भोगेर रोपाई गरेको बताए । रोपाईपछि बालीको गोडमेलमा लागेको उनको भनाइ छ । गोडमेल नगर्दा बाली उत्पादनमा ह्रास आउने उनको जिकिर छ ।

यता जिराभवानी गाउँपालिका वडा नं ३ का तुलसी दास थारुले अगहनी धानबालीलाई एक पटक गोडमेल गरी सकेको जानकारी दिए । तर भदैया तथा सारो जातीको धानबालीलाई दोस्रो पटक गोडमेल गरी बेहनी लगाउने क्रममा रहेको बताए ।

बेहनी नलगाए बालीको बिच बिचमा हावा प्रवेश गर्न नपाउँदा रोग तथा किराको संक्रमण बढ्ने र उत्पादनमा कमी आउने उनको भनाइ छ ।

आजको समयमा कृषि क्षेत्रको आधुनिकीकरण तथा किटनाशक औषधीको बिकास भएको छ । धानबालीमा लाग्ने झारपात हटाउन वा मार्न किटनाशक औषधीको प्रयोग समेत बढ्दो छ । तर औषधीको प्रयोग गर्दा बालीको वृद्धि तथा बिकासमा नकारात्मक असर पर्न सक्ने आशंकाले यसको प्रयोग न्यून रहेका किसानको भनाइ छ ।

खेतमा सधै पानी जम्ने वा पानी सञ्चय गरी राख्ने लगायतका झारपात नरहेको किसानले जनाएका छन् । तर उच्च सतह भएको जमिनमा भने बालीभन्दा बढि झारपात नै रहेको किसानको गुनासो छ ।


सम्बन्धित समाचार