Logo

४ भदौ,वीरगञ्ज । पर्सा प्रहरीले नगवामा भारतीय नम्बरको गाडीको ठक्करबाट ज्यान गएको घटनामा कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

प्रहरीले सवारी दुर्घटनामा मुद्दा दर्ता नगरेको भन्दै बीरगन्जको नारायणी अस्पताल अगाडि प्रदर्शन गर्न थालेपछि पर्सा प्रहरीले मुद्दा दर्ता गरेर कानुनी प्रक्रिया अगाडि बढाएको हो ।

भारतीय गाडीको ठक्करबाट मृत्यु भएका बीरगन्ज महानगरका कर्मचारीको परिवारजनले दिएको जाहेरी प्रहरीले दर्ता नगरेको भन्दै छपकैयाका स्थानीयले नारायणी अस्पताल अगाडि टायर बालेर प्रदर्शन गरेका थिए । नारायणी अस्पतालको गेट अगाडि टायर बालेर प्रदर्शन गर्न थालेपछि प्रहरीले पीडितका आफन्तलाई छलफलका लागि जिल्ला प्रहरी कार्यालयमा डाकेको थियो ।

केही बेर प्रहरी कार्यालयमा चलेको छलफलमा मुद्दा दर्ता गर्ने सहमति भएको जनाइएको छ । मंगलबार प्रहरीले पीडित परिवारसंग सहमति जनाउँदै सवारी ज्यानमा मुद्दा दर्ता गर्ने सम्झौता गरेको वडा प्रहरी कार्यालय बिर्ताले जानकारी दिएको छ।

यही बिहिबार भारतीय नम्बरको गाडीले नवगामा ठक्कर दिँदा मोटरसाइकल चालक फैजुल मियाँ गम्भीर घाइते भएका थिए । घाइते मियाँको उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले बताए । मृतक मियाँ महानगरपालिकाको कर्मचारी थिए ।


सम्बन्धित समाचार