Logo

४ भदौ,काठमाडौं । विश्वमा मंकीपक्सको सङ्क्रमण लगातार बढिरहेको छ । अफ्रिकी देश कंगोमा १६ हजारभन्दा बढीलाई मंकीपक्सको सङ्क्रमण देखिएको छ ।

मिडिया रिपोर्टका अनुसार मंकीपक्सबाट कंगोमा मात्र अहिलेसम्म ५७० भन्दा बढीको मृत्यु भइसकेको छ । कंगोली सरकारले अमेरिका र जापानबाट खोप मागेको छ ।

मंकीपक्सको सङ्क्रमण अफ्रिकी देशहरूमा लगातार बढेपछि विश्व स्वास्थ्य संगठनले हालै विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

प्रजातान्त्रिक गणतन्त्र कंगोमा यो रोग सुरु भएपछि छिमेकी देशहरूमा फैलिएको छ । अमेरिकाले कंगोलाई संक्रमणसँग लड्नका लागि ५० हजार खोप दिन आग्रह गरेको बताइएको छ । जापानले सोमबार मात्र बालबालिकाका लागि ३५ लाख खोप उपलब्ध गराउने बताएको छ ।

विश्व स्वास्थ्य संगठनले यो रोगसँग लड्न नयाँ निर्देशिका पनि जारी गरेको छ । मंकीपक्सको प्रकोप हुने क्षेत्रमा खोप लगाउने रणनीति अपनाउनुपर्ने डब्लुएचओले जनाएको छ ।

संगठनले मंकीपक्स र यसको फैलावटका घटनाहरूको छानबिन गर्न पनि आग्रह गरेको छ। डब्लूएचओले स्वास्थ्य विभागलाई हरेक हप्ता नयाँ केसको रिपोर्ट तयार गर्न भनेको छ ।

मंकीपक्स पीडितको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान, अनुगमन र सहयोग गर्नुपर्ने संस्थाले जनाएको छ । साथै संक्रमित मानिसहरूलाई खाना र अन्य सहयोग उपलब्ध गराउन तयार रहन समेत आग्रह गरिएको छ ।


सम्बन्धित समाचार