Logo

सांकेतिक तस्वीर

५ भदौ, वीरगञ्ज । पर्सा, बारा लगायत देशको अधिकाँश स्थानमा भारी वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ सरेकाले देशभर मनसुनी वायु सक्रिय भएर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै बाराको सिमरा विमानस्थलको जल मापन केन्द्रमा १ सय २८ मिलिमिटर वर्षा मापन भएको छ । पर्साको रंगपुर टाँडी बजारमा १ सय १७ दशमलव ८ किलिमिटर वर्षा भएको छ ।

पछिल्लो ३ घण्टा पर्साको रङ्गापुर टांडी बजार, बाराको सिमरा, पर्वानिपुर, कलैया, अमलेखगञ्ज र आसपास ठूलो वर्षा भएको छ । थप वर्षा हुन सक्ने तथा यो क्षेत्र भई बहने दुधौरा, पसाहा लगायत साना खोलाहरुमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा बिहान १० बजे सम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै कैलालीको धनगढीमा ९८ दशमलव ४, कञ्चनपुरको सुन्दरपुरमा ९८, बाराको कोल्हवीमा ९० दशमलव ४, कञ्चनपुरको हनुमान नगरमा ८४ दशमलव ४, लमजुङको बेसीशहरमा ६६ मिलिमिटर पानी परेको छ । यस्तै ताप्लेजुङ, सङ्खुवासभा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक लगायतका जिल्लामा पनि पानी परेको छ ।


सम्बन्धित समाचार