Logo

६ भदौ, काठमाडौँ । सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई दोस्रो जिम्मेवारी दिएको छ । केन्द्रलाई सङ्घ अन्तर्गतका अस्पतालमा बिग्रिएका उपकरणको मर्मत सम्भारको जिम्मेवारी दिएको हो । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबिच त्यससम्बन्धी सम्झौता भएको हो ।

यसअघि केन्द्रले सरकारबाट लामो समयसम्म थन्किएको कृषि औजार केन्द्र वीरगंजको जिम्मा पाएर सञ्चालन गरिरहेको छ । यसअघि महावीर पुन नेतृत्वको सो केन्द्रले आविष्कारजन्य कार्यमा समेत सरकारले असहयोग गरेको गुनासो गर्दै आएको थियो ।

स्वास्थ्य उपकरण मर्मत गर्ने जिम्मेवारीको सम्झौतामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार आविष्कार केन्द्रले हाल मन्त्रालय अन्तर्गतका अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिएर मर्मत सम्भव भएका सबै उपकरण मर्मत गर्ने छ ।

सम्झौताका अवसरमा सहभागी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालमा बिग्रिएका उपकरण आविष्कार केन्द्रले मर्मत गर्ने र मर्मतपछि अस्पतालहरूमा सजिलो हुने बताए ।

उनले देशको सिप प्रयोग गरेर स्वदेशमै केही गर्न खोजिरहेका वैज्ञानिकहरूको योगदानलाई राज्यका तर्फबाट कदर गरिएको बताए । उनले स्वदेशी सिपमा कम खर्चमा अस्पतालमा बिग्रिएका उपकरणको मर्मत हुने विश्वास व्यक्त गरे । केन्द्रको सहयोगमा राज्यको खेर गइरहेको सम्पत्तिको उपयोगले बिरामी पनि लाभान्वित हुने र उपकरण खरिदका लागि हुने खर्चसमेत कम हुने दाबी गरे ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार केन्द्रले १७ वटा सङ्घीय अस्पतालको उपकरणको अवस्थाबारे विवरण लिएपछि अस्पतालमै गएर केन्द्रले मर्मत थाल्ने छ । आविष्कार केन्द्रका प्रमुख पुनले स्वास्थ्य मन्त्रालयले केन्द्रलाई विश्वास गरेर ठुलो जिम्मेवारी दिएकामा स्रोत, साधन र प्रविधिको उपयोग गरेर जिम्मेवारी पूरा गरिने बताए । उनले सम्झौताबाट आफूहरूलाई हौसला मिलेको भन्दै सरकारलाई धन्यवादसमेत दिए ।


सम्बन्धित समाचार