Logo

अघिल्लो वर्षको मेलाको दृश्य

७ भदौ, बारा । बाराको महागढ़ीमाई नगरपालिका विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला २०८१ को तयारीमा जुटेको छ । मेलालाई ऐतिहासिक र अविस्मरणीय बनाउने लक्ष्य सहित तयारीमा जुटेको नगर प्रमुख उपेन्द्र यादवले बताए । बरियारपुर स्थित गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा लाग्ने मेलालाई व्यवस्थित बनाउन विभिन्न अत्यावश्यक कार्यहरु धमाधम भईरहेको उनले बताए ।

नगर प्रमुख यादवका अनुसार दक्ष प्राविधिक टोली खटाई पार्किङ्ग व्यवस्थापनको कामलाई अगाडी बढाईएको छ । मेला हेर्न आउने श्रद्धालु भक्तजनका लागि पूर्व, पश्चिम, उत्तर र दक्षिणमा ठूला गाडी, हलुका सवारी साधन र दुईपांग्रे मोटरसाईकल र साईकलको पार्किङ्ग राख्ने स्थानहरुको व्यावस्थापनका लागि अनुगमन र निरीक्षण गरि स्थान छनौट गरिसकिएको छ ।

भक्तजन र प्रचार प्रसार समिति, विभिन्न शक्तिपीठका गुरुहरु तथा राष्ट्र प्रमुख राष्ट्रपति सहित विभिन्न मन्त्री र उद्योगपतिहरूलाई शोभायात्रा र मेला उद्धघाटनमा सहभागी गराउनका निमित्त निमन्त्रणाका लागि काम सुरु भैसकेको नगर प्रमुख यादवले जानकारी दिए ।

खानेपानी व्यवस्थापनका लागि १०० भन्दा बढी सार्वजनिक धाराहरू जडान गरिएको उनले बताए । भारतको रक्सौल, आदापुर, छौडादनो, घोडासाहन लगायतका भारतीय नाकाहरु देखी गढीमाई सम्मको बाटो विभिन्न स्थानिय तहहरुसंगको समन्वय र पहलमा कालोपत्रे गरिएको र बाँकी रहेको सडकहरुको काम चाडै नै पुरा गरिने नगर प्रमुख यादवको भनाई छ ।

मुल बाटो र चोकहरुमा सोलार बत्ती र टावर लाईट जडान गरिएको उनले बताए । मेलामा सुरक्षाको विषयलाई मध्ये नजर गरि नगर प्रहरीहरूको संख्या बढाइएको छ साथै महागढीमाईनगरपालिका क्षेत्रमा पर्ने मठमन्दिरहरूलाई दिनहु सरसफाई गर्ने कामलाई तिव्र बनाइएको छ ।

विगतको जस्तै यसवर्ष पनि दशैंको घटस्थापनाको दिन अर्थात् आश्विन १७ गते राष्ट्र प्रमुख राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भव्य शोभायात्राको समुद्घाटन गराई बिश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला २०८१ को शुभारम्भ गरिने योजना रहेको नगर प्रमुख यादवले बताए । उनका अनुसार मेलाको तयारीका आवश्यक ८० प्रतिशत कार्य भईसकेको छ ।


सम्बन्धित समाचार