Logo

७ भदौ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ सुरू भएको छ ।

सहकारी संस्थाहरूको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक लामिछानेसँग शुक्रबार दिउँसो बयान लिएको हो ।

यसअघि लामिछानेका साझेदार एवम् नेपाल प्रहरीका पूर्वडीआईजी छविराज जोशीसँग समितिले शुक्रबार नै बयान लिएको थियो। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिन थालिएको हो ।

दुई ठूला सहकारी संस्थाको बचत रकम लगानी गरिएको तत्कालीन गोर्खा मिडिया नेट्वर्कमा लामिछानेका साझेदार रहेका जोशी र लामिछानेसँग लिएको बयानबारे समितिले केही खुलाएको छैन ।

छविले बयान दिएर बाहिरिएपछि पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका बोलाइएको हो ।

गोर्खा मिडिया नेट्वर्कमा छवि, रवि लामिछाने र हाल फरार रहेका गितेन्द्रबाबु राई (जीबी) का साझेदार थिए । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई भदौ २ गते नै सोधपुछ गर्ने कार्यसूची थियो ।

तर छवि जोशीले आमाको काज किरिया भदौ ६ गते सकेकाले त्यसको भोलिपल्ट बयानमा आएका हुन् । जोशीको बयान नलिई रविलाई सोध्न प्रमाण नपुग्ने भएकाले म्याद सारिएको थियो ।

समितिले भदौ १० गतेसम्म सोधपुछ सक्ने गरी तयारी गरेको छ । राजनीतिमा लाग्नुअघि लामिछानेले जीबी राईसँग मिलेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप लागेको छ ।

पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाखसहित ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा सारेको आरोप उनीहरूमाथि छ ।

गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक थिए । रास्वपा सभापति लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गरेपछि सूर्य थापाको नेतृत्वमा समिति गठन भएको थियो ।


सम्बन्धित समाचार