Logo

सांकेतिक तस्वीर

८ भदौ, पटेर्वासुगौली । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ । वडा नम्बर ५ शंकर सखुवनियाका ६० वर्षिय तुलसी राउत थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी गाउँनजिकैको जङ्गलमा शुक्रबार अपरान्ह घाँस काट्न गएका थिए । त्यस बेला बाघको आक्रमणमा परेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिए ।

दाहिने खुट्टा र बाँया हात बाघले खाएको अवस्थामा थारुको शव आज विहान फेला परेको प्रहरी निरीक्षक बुढाथापाले बताए । शुक्रबार (हिजो) देखि बेपत्ता रहेका थारुको शव आज विहान सुगिभार नजिकको नर्सरीमा फेला परेको हो ।

उनले भने “थारु शुक्रबार अपरान्ह घरबाट घाँस काट्न जङ्गल गएका थिए । उनी अबेर रातिसम्म पनि घर नफर्के पछि स्थानियले आज विहान उनलाई खोज्न जङ्गलमा पुगे । खोज्ने क्रममा एक/एक हात खुट्टा नरहेको अवस्थामा उनको शव फेला प¥यो ।”

शव फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका टोली शवस्थलमा पुगेर मुचुल्का उठाई शव परिक्षण (पोष्टमार्टम) गर्न वीरगञ्ज स्थित नारायणी अस्पतालमा पठाएको प्रहरी निरिक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिए ।


सम्बन्धित समाचार