Logo

८ भदौ, काठमाडौं । देशभर ९८ दशमलव पाँच प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अघिल्लो वर्ष ९४ दशमलव ६ प्रतिशतमा रोपाइँ भएकामा यस वर्ष झन्डै चार प्रतिशत रोपाइँ बढेको छ । देशभर १३ लाख ९८ हजार नौ सय ८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा १३ लाख ७८ हजार ६ सय ११ हेक्टर क्षेत्रफलमा सकिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोशी प्रदेशमा ९९ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कोशी प्रदेशमा करिब दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर रोपाइँ हुने क्षेत्रफल रहेकामा अहिलेसम्म दुई लाख ७५ हजार दुई सय ६७ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो ।

मधेस प्रदेशमा ९७ दशमलव तीन प्रतिशतमा रोपाइँ सकिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यस प्रदेशमा तीन लाख ८६ हजार एक सय ५० हेक्टर रोपाइँ हुने क्षेत्र रहेकामा तीन लाख ७५ हजार ६ सय १४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

बाग्मती प्रदेशमा यस वर्ष ९९ दशमलव दुई प्रतिशत रोपाइँ सकिएको छ । बाग्मतीमा एक लाख १२ हजार दुई सय ७३ हेक्टर खेतीयोग्य क्षेत्रफल रहेकामा एक लाख ११ हजार तीन सय ५१ क्षेत्रफलमा रोपाइँ सकिएको कृषि मन्त्रालयले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा भने ९७ दशमलव ८ प्रतिशत रोपाइँ सकिएको छ । यस प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफल ९६ हजार ५३ हेक्टर रहेकामा ९३ हजार नौ सय २१ क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

लुम्बिनी प्रदेशमा ९८ दशमलव तीन प्रतिशत रोपाइँ सकिएको छ । यस प्रदेशमा तीन लाख ११ हजार ६ सय ४३ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकामा तीन लाख ६ हजार तीन सय ७७ हेक्टरमा रोपाइँ सकिएको छ ।

यसैगरी, कर्णाली प्रदेशमा ९९ दशमलव दुई प्रतिशतमा रोपाइँ सकिएको छ । कर्णाली प्रदेशमा ४१ हजार नौ सय चार हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकामा यस वर्ष ४१ हजार पाँच सय ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो ।

सुदूरपश्चिम प्रदेशमा भने शतप्रतिशत नै रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा एक लाख ७४ हजार पाँच सय ७६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकामा एक लाख ७४ हजार पाँच सय एक हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष रासायनिक मलको सहज उपलब्धता र किसानका लागि मनसुन सुखद रहेको कारण झन्डै चार प्रतिशतले रोपाइँ बढेको जानकारी दिनुभयो । अब खडेरी परेन र धान भित्र्याउने बेलामा ठूलो वर्षा भएन भने १० प्रतिशतले धान उत्पादन बढ्ने उहाँको भनाइ छ ।

राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा.मथुरा यादवले राम्रो वर्षा हुँदा र समयमा नै धान रोपाइँ सम्पन्न भएमा धानको उत्पादनमा पनि बढ्ने बताउनुभयो । धान उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न रासायनिक मलको सहज उपलब्धता र सिँचाइको व्यवस्था हुनुपर्ने उहाँको भनाइ छ । #रासस


सम्बन्धित समाचार