Logo

८ भदौ,सेढवा । पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय जंगलमा जनावरको संख्यामा बृद्धि भई संरक्षणको उचित व्यवस्थापन नहुदा सर्वसाधारणले जनधनको क्षति व्योहर्नु परेका छन। शुक्रवार बाघको आक्रमणबाट जिराभवानी गापा वडा नं ५ सखुवनियाका एक जना बृद्धले ज्यान गुमाउनु परेका छन्।

त्यस्तै गत माघ महिनामा बाघ मानव बस्तीमा प्रबेश गरी पटेर्वासुगौली गाउँपालिका वडा नं. २ का एक जनाको पनि बाघले ज्यान ज्यान लिएको थियो । दुई जना सोही समयमा सखुवाप्रसौनी गाउँपालिका वडा नं १ मा बाघकै आक्रमणबाट घाइते भएका थिए।

बिषेश गरी जंगलको माीसँग जोडिएका मानवबस्तीका बासिन्दाहरुले यस्ता क्षति खेप्दै आएका छन्। ठोरी गाउँपालिका वडा नं ५ गडुवालाईनका मूना मगरका अनुसार यस क्षेत्रमा मानवीय क्षति नभएपनि जंगली जनावरहरुले धेरै नै पशुचौपाया मारेको बताईन्।

बैशाख महिना यता एक टोलका मात्र डेढ दर्जनभन्दा बढी खसी बाख्रा मारेको मगरले बताईन्। बाघ, निङ्गाले, चितुवा र भालू लगायतका जंगली जनावरहरु खेतबारी तथा बस्तीमा प्रबेश गर्ने गरेका कारण जंगलको सीमासँग जोडिएका बस्तीहरु त्रासमय भएको मगरले बताईन्। बस्तीको आसपास नै ठूलठूला घारी भएका कारणले पनि जंगली जनावर आउने गरेको मगरको भनाई छ ।

पर्सा जिल्लामा जंगलको सिमानाको लम्बाई ६० किलोमीटर रहेको छ। जसमा २५ किलोमिटर डिभिजन वन कार्यालय पर्साको राष्ट्रिय वन पर्छ। यो सिमानाको वनक्षेत्र पूर्ण रुपमा खुल्ला रहेको छ । कहि कहि बृक्षारोपणका लागि काडे तारबार लगाइएका छन।

बाँकी रहेको ३५ किलोमिटर क्षेत्र पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ। यी मध्यवर्ती क्षेत्रमा जंगली जनावरहरुको नियन्त्रणका लागि बिद्युतीय तारबार तथा मेस जालीको बार लगाइएको छ। चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने निर्मल–ठोरी उपभोक्ता समितिका अध्यक्ष बल बहादुर बस्नेतका अनुसार १९ किलोमीटर लम्बाई भएको सिमानामध्ये ५ किमीमा मेस जालीको बार लगाइएको छ।

त्यस्तै ४ किलोमीटरमा बिद्युतीय तार वार लगाइएको बस्नेतले बताए। तर सो तारवार बिग्रिएका र मर्मतका लागि चितवन राष्ट्रिय निकुञ्ज माग गरेको अध्यक्ष बस्नेतले बताए। यता पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत निर्मल उपभोक्ता समिति, कुशुम बाटिका उपभोक्ता समिति, सुनाखरी उपभोक्ता समिति र पञ्चमुखी उपभोक्ता समिति रहेका छन।

यी समितिहरुको क्षेत्रमा पनि जंगली जनावर नियन्त्रणका लागि बिद्युतीय तार वार र मेस जाली तार वार जडान गरिएको छ । तर अधिकांश स्थानमा बिग्रिएका तथा ढलेका कारण जंगली जनावर नियन्त्रण नभएका सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर पाख्रिनले बताए।

ढलेको तारवारको मर्मत गर्ने तथा बिद्युतीय तार वार भएको झारपातको सरसफाई , घारीको सरसफाई गर्ने सो क्षेत्रका नागरिकको काम भएका तर नगर्दा यस्ता समस्या आएको पाख्रिनले बताए। जंगली जनावरको संरक्षण गर्नु मानवको दायित्व भएपनि उनीहरुकै आक्रमणबाट जनधनको क्षति व्योहर्नु परेका सर्वसाधारणहरुको भनाई रहेको छ। मानव तथा वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरणमा सम्बन्धित निकाय अग्रसर हुनु आवश्यक रहेको स्थानीय बुद्धिजीवीहरुको भनाई छ ।


सम्बन्धित समाचार