Logo

९ भदौ,काठमाडौं । दुई महिनादेखि अन्तरिक्षमा फसेका नासाका दुई यात्री सुनिता विलियम्स र बेरी बच विल्मोरलाई सन् २०२५ को सुरुमा धर्तीमा फर्काइने भएको छ।

अमेरिकी अन्तरिक्ष संस्था नासाले पत्रकार सम्मेलन गरी २०२५ फेब्रुअरीमा स्पेसएक्सबाट धर्तीमा फर्काउने जनाएको बिबिसीले जनाएको छ।

दुवै यात्री बोइङ स्टारलाइनर विमानबाट अन्ताराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा गएका थिए। अब उनीहरू बिनाचालकदल फर्कने नासाले जनाएको छ।

६१ वर्षका विल्मोर र ५८ वर्षीया सुनिताले गत जुनमा अन्तरिक्ष स्टेशनका लागि उडान भरेका थिए। आठ दिनको मिशनमा गएका उनीहरूले अन्तरिक्ष कक्षमा ८ महिना बिताउनुपर्ने भएको छ।

आठ दिनपछि उनीहरूलाई धर्तीमा लिएर फर्कने योजनानुसार लागि उडान भरेको स्टारलाइनरमा आइएसएसको नजिक पुगेपछि थप खराबी आयो र यानलाई दिशा दिने त्यसका पाँचवटा थ्रस्टर बन्द भए। हिलियम ग्यास पनि सकिएपछि उक्त यान इन्धनमा निर्भर हुनुप¥यो।

नासाले आफ्ना अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा लिएर जान कमर्सियल फ्लाइटका लागि बोइङलाई ४.२ डलर र स्पेस एक्सलाई २.६ अरब डलरको कन्ट्र्याक्ट दिएको छ। अहिलेसम्म स्पेसएक्सले अन्तरिक्षमा मानवयुक्त नौ उडान सफलतापूर्वक गरेको छ। बोइङको भने यो पहिलो मानवयुक्त मिशन हो।

बोइङ र नासाका इन्जिनियरहरूले स्टारलाइनर अन्तरिक्ष यानमा देखिएको प्राविधिक समस्या बुझ्न लामो समय लगाइसकेका छन्। उनीहरूले अन्तरिक्ष र धर्तीमा कैयौं परीक्षण गरिसकेका छन्। नासाका एडमिनिस्ट्रेटर बिल नेल्सनले सुनिता र विल्मोरलाई लिएर गएको यानमा सुधार गर्न नासा र बोइङले मिलेर काम गरिरहेको बताएका छन्। दुई अन्तरिक्षयात्रीको अन्तरिक्ष स्टेशन बसाइको समय फेब्रुअरी २०२५ सम्म बढाउने फैसला लिइएको उनले बताए।

उनीहरूलाई स्पेसएक्स क्रु ड्र्यागन स्पेसक्राफ्टबाट फिर्ता लेराउने तयारी गरिएको छ। यस स्पेसएक्समा सुरुमा चारजना अन्तरिक्षयात्री जाने तय गरिएकोमा सुनिता र विल्मोरका लागि ठाउँ राख्न अब अन्तरिक्ष स्टेशनसम्म दुई यात्री मात्र जाने भएका छन्। सेप्टेम्बरको अन्त्यमा उडान निर्धारण गरिएको यो यान २०२५ फेब्रुअरीमा फर्कँदा सुनिता र विल्मोरलाई लिएर आउनेछ। एजेन्सी

 


सम्बन्धित समाचार