Logo

९ भदौ, चितवन । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि दुई सय ६६ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् ।

महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताइन् ।

छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई आइतबार सिफारिस पत्र वितरण गरिएको छ । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई समेत छात्रवृत्ति वितरण गरिएको छ ।

‘जेहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ’, शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यले भने । ३० संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ८९ र अन्य ७७ जना रहेका छन् ।

छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ ९९, गरिब तथा विपन्नतर्फ ९६, आदिवासी जनजातितर्फ २६, दलिततर्फ १३, अपाङ्गता भएका ८, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ २४ जना रहेका छन् ।

जसमध्ये अरोमा कलेज ४५ जना, अर्किड कलेज ३० जना, बालमिकि शिक्षा सदन २५ जना, नारायणी पब्लिक कलेज २४ जान, गुरुकुल एकेडमी १८ जना, एपेक्स एकेडमी १३ जना, सप्तगण्डकी कलेज ९ जना, अंकुरम एकेडमी ९ जना, अरबिट यूनिक स्कुल ९ जना र अन्य स्कुल गरी २६६ जनाले छात्रवृत्ति पाएका छन् ।

महानगरले वार्षिक रुपमा छात्रवृत्ति वितरण गर्दै आएको छ । गत वर्ष महानगरले २ सय ७४ जनालाई छात्रवृति दिएको थियो ।


सम्बन्धित समाचार