Logo

१० भदौ,हेटौँडा । हेटौँडाको एक होटलमा युवती मृत अवस्थामा फेला परेकी छिन् । हेटौँडा–१०, भुटनदेवी मन्दिर रोडस्थित रत्न होटलको कोठाभित्र युवती मृत फेला परेकी हुन् ।

आइतबार साँझ होटलको कोठा बुक गरेर अन्दाजी ३० वर्षका पुरुषसँग बसेकी हेटौँडा–११ की २३ वर्षीया एलिशा न्यौपाने सोमबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोमबार बिहान ढोका खोलेर हेर्दा युवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार मृतक युवतीको आँखामा चोट देखिएको छ । आइतबार साँझ ५ बजेको समयमा होटलमा एक युवकसँग न्यौपाने होटल पुगेकी थिइन् । सोमबार बिहान अबेरसम्म पनि कोठाको ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए । जनप्रतिनिधि र प्रहरीको रोहबरमा ढोका खोलेर हेर्दा युवती मृत अवस्थामा भेटिएको उनले बताए ।

न्यौपानेसँगै आएका युवकले उनको हत्या गरेर कोठाको ढोका भित्रबाट बन्द गरी झ्यालबाट बाहिर निक्सिएको प्रहरीको प्रारम्भिक अनुमान छ । आइतबार साँझ ५ बजे होटल पुगेपछि बियर र मम मगाएर खाएको र साँझ ८ बजेको समयमा युवक होटलबाट निक्सिएको दृश्य सीसी क्यामेरामा कैद भएको देखिएको छ ।

मृतक युवतीको शव हेटौँडा अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।


सम्बन्धित समाचार