Logo

११ भदौ, वीरगञ्ज । वीरगञ्जमा २ जना मलेरिया (औलो) का विरामी फेला परेका छन् । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका लागी पुगेका दुई जना विरामीलाई मलेरिया पुष्टी भएको हो ।

लामो समयदेखि ज्वरोले ग्रसित रहेका वीरगञ्ज १७ निवासी एक जनाको उपचारको लागी सोमबार उक्त अस्पतालमा लगिएको थियो । मलेरियाको आशंकामा चिकित्सकले परिक्षण गर्दा मलेरिया रोग नै पुष्टी भएको बताइएको छ ।

त्यसपछि उपचार गराउन विरामीसँगै गएका अर्का व्यक्तिको पनि परिक्षण गर्दा उनलाई समेत मलेरिया पुष्टी भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए । थप पुष्टीका लागी जिल्ला स्वास्थ्य कार्यालय पर्साको टोली अस्पतालमा पुगेको थियो ।

स्वास्थ्य कार्यालयका ल्याब अधिकृत विजय साह र वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखाका सुमनचन्द्र ठाकुरले अस्पतालमा पुगेर उनीहरुलाई मलेरिया नै भएको थप पुष्टी गरेका हुन् । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार यो आयातित् मलेरिया हो ।

“विरामी कामका शिलशिलामा भारतको जोद्धपुरमा बस्दथे । उनी ज्वरोले ग्रसित भएर घर फर्केका थिए । लामो समय देखि समान्य ज्वरोको औषधी खाएर बस्दथे । तर १० देखि १५ दिनको अन्तरालमा ज्वरो आईहाल्ने गथ्र्यो ।”

ज्वरो निको नभएर शरिर कमजोर हुन थालेपछि उनी अस्पताल पुगेका हुन् । त्यसकारण यो आयातित् मलेरिया रहेको जनस्वास्थ्य अधिकृत ठाकुरले बताए । उनीहरुलाई भर्ना गरेर मलेरियाको औषधी दिन थालिएको ठाकुरको भनाई छ ।

के हो मलेरिया (औलो) रोग ?
सामान्य रुपमा औलो भनेर चिनिने मलेरिया एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टे टोकाइबाट सर्दछ ।

प्लामोडियम भाइवेक्स, प्लामोडियम मलेरी, प्लाज्मोडिम ओभेल र प्लाज्मोडिम फास्सिपारम गरी चार जातका परिजीविबाट यो रोग लाग्ने गर्दछ ।

प्लाज्मेडियम फाल्सीफारम जातको औँलोले मानिसको मस्तिष्कमा समेत आक्रमण गर्न सक्ने हुनाले मानिसको ज्यान जाने जोखिम रहन्छ । एनोफिलिज जातको पोथी लामखुट्टेको स्वस्थ्य मान्छेलाई टोक्दा मलेरियाको परजीवि सर्दछ ।

मानिसको शरीरमा प्रवेशपछि कलोजो र राता रक्तकोषमा विकास भई रगतको माध्यमबाट शरीरको विभिन्न भागमा फैलिन्छ र मानिसमा विभिन्न लक्षण देखा पर्दछ । समयमै मलेरियाको उपचार भएन भने छोटो समयमै पनि ज्यान जाने जोखिम हुन्छ ।

मलेरिया (औलो)को लक्षण

  • संक्रमित लामखुट्टेले टोकेको १० देखि १५ दिन सम्म ज्वरो आउने
  • टाउको दुख्ने, वान्ता हुने, जोर्नी दुख्ने
  • शरीरमा रगतको मात्रा कम हुने
  • शरीरका भित्री अंग सुनिने
  • थकित महसुस हुने

मलेरियाको निदान तथा उपचार
मलेरियाको शंका लागेमा रगत परीक्षण गरी मलेरिया भए नभएको पत्ता लगाउन सकिन्छ । नेपाल सरकार मातहतका सम्पूर्ण स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निःशुल्क हुन्छ ।

औलोको जोखिमयुक्त क्षेत्र पहिचान गरी वर्षको २ पटक घरभित्र विषादी छर्किनु पर्छ, जसले लामखुट्टे नियत्रणमा सहयोग गर्छ । घर, गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने स्थानहरुलाई नष्ट गर्नुपर्छ । सुत्नेबेला झुलको प्रयोग अनिवार्य रुपमा गर्नुपर्छ ।


सम्बन्धित समाचार