Logo

११ भदौ,सेढवा । वीरगञ्जको नारायणी अस्पतालमा मेनेन्जाईटिस (दिमागी ज्वरो) ले एकजनाको मृत्यु भएको छ ।

पर्साको जिराभवानी गाउँपालिका वडा नं २ सेढवा निवासी धर्मराज राम चमारकी १५ बर्षीया छोरी प्रियंका कुमारी रामको मेनेन्जाईटिस रोगका कारण मृत्यु भएको नारायाणी अस्पतालका चिकित्सकले बताएका छन् ।

मृतक प्रियंका करिब करिब दुई सातादेखि बिरामी परेका उनका अभिभावकले जनाएका छन। प्रियंकाको स्थानीय स्वास्थ्य चौकी तथा क्लिनिकहरुमा स्वास्थ्य उपचार गराईएको थियो ।

तर स्वास्थ्य अवस्थामा सुधार नआएपछि उपचारका लागि बीरगंज स्थित नारायणी अस्पतालमा भर्ना गरिएका प्रियंकाका बाबु धर्मराज राम चमारले बताए। छोरीलाई भदौ ३ गते सोमवार भर्ना गरिएको र १० सोमवार दिउँसो ४ बजे छोरीको मृत्यु भएको चिकित्सकहरु जनाएको चमारका छिमेकी भुनेश्वर राम चमारले बताए।

नारायणी अस्पतालबाट प्रियंकाको शव डिस्चार्ज गर्दा डेंगू रोगका कारण मृत्यु भएको भन्ने हल्ला गरिएपनि उनमा डेंगुको संक्रमण नभई मेनेन्जाइटिस रोगको संक्रमण देखिएको नारायणी अस्पालका फिजिसियन डाक्टर उदयनारायण सिंहलले जानकारी दिनुभयो ।

डाक्टर सिंहका अनुसार प्रियंकालाई पूरानो स्क्रबटाईफस जस्तो र मेनेन्जाईटिस देखिएको थियो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर एमानमुल हकले भने डेंगुको संक्रमणबाट अहिलेसम्म कुनैपनि बिरामीको मृत्यु नभएको बताए ।
उनले आफूलाई प्राप्त रिपोर्ट अनुसार अहिलेसम्म कुनैपनि बिरामीको डेंगु संक्रमणका कारण मृत्यु भएको जानकारी नआएको बताए ।

प्रियंका कुमारी रामको विषयमा भने आफूलाई जानकारी नभएको र बुझेर जानकारी दिने बताउनुभयो । आर्थिक अवस्था एकदमै कमजोर भएका चमारले छोरीको उपचारका लागि गाउँभरि चन्दा संकलन गरी उपचार गराउदै आएका थिए। प्रियंकाको शव हिन्दु परम्परा आनुसार आज दाहसंस्कार गरिएको छ।


सम्बन्धित समाचार