Logo

१३ भदौ, काठमाडौं । बङ्गलादेशमा प्रदुषणले नागरिकको औसत आयु झण्डै ५ वर्षले घटाउने एक अध्ययन प्रतिवेदनले देखाएको छ । विश्वको सबैभन्दा प्रदूषित देश बङ्गलादेशमा औसत व्यक्ति चार दशमलव आठ वर्ष कम बाँच्ने वायुको गुणस्तरबारे अनुगमन गर्ने एयर क्वालिटी लाइफ इन्डेक्सले निकालेको प्रतिवेदनमा उल्लेख छ ।

बङ्गलादेशमा सूक्ष्म कण वायु प्रदूषण (पिएम २.५) ले यी मानव श्वासप्रश्वास प्रणालीमा समस्या निम्त्याइरहेको प्रतिवेदनले देखाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । पिएम २.५ भन्नाले २.५ माइक्रोन वा योभन्दा सानो व्यास भएको सूक्ष्म कणलाई जनाउँछ ।

यी कण धुलो, तुफान, डढेलो, कोइला जलाउँदा वा कृषिजन्य कार्यजस्ता मानव गतिविधिले गर्दा उत्पन्न हुन्छ । बङ्गलादेशको राजधानी ढाका नजिकै गाजीपुर र नरसिङदी जिल्लामा वायु प्रदूषण उच्च छ । प्रदूषणले त्यहाँका मानिसको ६ वर्षभन्दा धेरै उमेर घटाइरहेको प्रतिवेदनमा उल्लेख छ ।

वार्षिक औसत कण प्रदूषण डब्ल्यूएचओले निर्देश गरेकोभन्दा धेरै रहेको क्षेत्रमा बङ्गलादेशका १६ करोड ६४ लाख मानिस बस्दछन् । देशको ९६ दशमलव आठ प्रतिशत जनसङ्ख्या ३५ माइक्रोग्राम प्रतिघनमिटरको आफ्नो राष्ट्रिय मानक पूरा नगर्ने क्षेत्रमा बस्ने गरेका छन् ।


सम्बन्धित समाचार