Logo

१३ भदौ,वीरगञ्ज । नेपाल शिक्षक महासंघ बीरगन्ज शाखाले महानगरको दरबन्दी मिलानको सवालमा उठाएका मागहरुप्रति पर्साका पाँच राजनीतिक दलहरुले एक्यबद्धता जनाएका छन् ।

बीरगन्ज महानगरपालिकाको शिक्षा शाखाले दरबन्दी मिलानको नाममा व्यक्ति मिलान गरेको भन्दै नेपाल शिक्षक महासंघ बीरगन्ज शाखाले विरोध जनाएको छ । शिक्षक महासंघ बीरगन्जले जनाएको विरोधप्रति आज पाँच राजनीतिक दलहरुले एक प्रेस विज्ञप्ति जारी गर्दै शिक्षकहरुको जायज मागप्रति एक्यबद्धता जनाएका छन् ।

नेपाली कांग्रेस, एमाले, जसपा नेपाल, रास्वपा र जनमत पार्टीका जिल्ला नेतृत्वले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै शिक्षक महासंघ बीरगन्जको मागप्रति समर्थन जनाएको छ ।

महानगरको शिक्षा शाखाले गरेको दरबन्दी मिलानका कारण शिक्षकहरुमा भयको वातारण सृजना भएको ठहर गर्दै तत्काल शिक्षकहरुको माग सम्बोधन गर्न पाँच राजनीतिक दलहरुले जारी गरेको विज्ञप्तिमार्फत माग गरेका छन् ।

पाँच दलहरुले विज्ञप्तिमा भनेका छन्, ‘शिक्षकहरुसंग महानगरको शिक्षा शाखाले गरेको विवादले तनावपूर्ण स्थिति बनेको छ, जसका कारण महानगरका सम्पूर्ण विद्यालयहरुमा तनावपूर्ण माहोल बन्दै गएको छ । त्यसकारण यी समस्याको समाधान गर्न सम्बन्धित निकायले तदारुकता देखाउन आग्रह छ।’

नेपाल शिक्षक महासंघ बीरगन्ज शाखाले दरबन्दी मिलानको नाममा भएको व्यक्ति मिलानको कामलाई तत्काल खारेजीको माग गरेको छ ।

 


सम्बन्धित समाचार