Logo

१३ भदौ,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी प्रकरणमा संसदीय छानबिन विशेष समितिले गम्भीरतापूर्वक छानबिन गरिरहेको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा रास्वपाका नेताहरूले प्रमाण खोइ, प्रमाण खोइ भनिरहेको बताउँदै आफूहरूले सबै चिज समितिलाई दिएको बताएका छन् ।

‘केही साथीहरूले प्रमाण खोइ, प्रमाण खोइ भनिरहेका छन् । प्रमाण खोजिहरेका छन्’, उनले भने, ‘त्यत्रो तथ्य र प्रमाण भएरै त होला संसद्मा संघर्ष गरेर हामीले संसदीय विशेष छानबिन समिति बनाएका छौँ । त्यो समिति हामीले बनाएका हौँ, त्यसको टीओआर बनेको छ ।’

उनले सहकारी ठगी प्रकरणमा मुछिएकाहरूको प्रमाण आफूहरूले संसदीय समितिलाई बुझाएको पनि बताए । ‘हामीले भएका प्रमाण दिएनौँ होला र संसदीय समितिलाई ? अरुले दिएनन् होला र ?’, उनले भने, ‘संसदीय समिति बनेको छ ।’

उनले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेतिर इंगित गर्दै नौ मिनेटमा बयान सक्छु भनेकाले नौ घण्टासम्म बयान बस्नुपरेको उल्लेख गरे ।

‘नौ महिनामा चट् भइजान्छ भनेको सुनेको थिएँ, नौ घण्टासम्म बयान दिनुपरेको छ’, उनले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेतिर कटाक्ष गर्दै भने, ‘बयान हो बयान, फैसला होइन । समितिको फैसला त आउनै बाँकी छ ।’

उनले संसदीय समितिका सभापति सूर्य थापाले धेरै मिहिनेत गरेर छानबिन गरिरहेको पनि उल्लेख गरे । ‘संसदीय समितिमा बस्ने सबै साथीहरूमाथि हामीलाई विश्वास छ । रास्वपाका साथीलाई समस्या होला, कालोलाई सेतो भन्नुपर्ने बाध्यता उहाँलाई छ ।’


सम्बन्धित समाचार