Logo

१४ भदौ, सर्लाही । प्रदूषित पानी बेच्ने सर्लाहीका चार उद्योग बन्द गरिएको छ । हरिवन र लालबन्दी नगरपालिकाका चारवटा पानी उद्योग बन्द गराइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरबाट बिहीबार दिउँसो अनुगमन गर्दा पानी उद्योग नवीकरण नगरिएको र विभिन्न किसिमका लापरबाही गरेको पाइएपछि उद्योग बन्द गराइएको हो । यी चार वटै पानी उद्योगको उत्पादन र बिक्री वितरण तत्काल बन्द गराएर प्रयोगशालामा परीक्षणका लागि पानीको नमुना सङ्कलन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका खाद्य निरीक्षक प्रवीण तिवारीले जानकारी दिए।

उनका अनुसार हरिवन नगरपालिका ४ मा रहेको टाइम्स ड्रिलिङ वार्टर फुड प्रडक्ट प्रा।ली। तीन वर्षदेखि नवीकरण नभएको र उद्योगको सरसफाइ पनि सन्तोषजनक नभएको पाइएको छ । यस्तै हरिवन नगरपालिका ४ मै रहेको सर्लाही रिफ्रेस ब्रान्डको पानी उत्पादन गर्ने जय हनुमान ड्रिङकिङ वार्टर प्रा।ली। ले पनि छ वर्षदेखि अनुज्ञा पत्र नवीकरण नगरेको पाइएको छ ।

अनुगमन टोलीले लालबन्दी नगरपालिका १ मा जुनैद अन्सारीले दर्ता नै नगरी अखाद्य रङ्ग हालेर कटन क्याण्डी उत्पादन गरिरहेको पाइएपछि उत्पादित कटन क्याण्डी र मेसिन समेत बरामद गरिएको छ । अनुगमनका क्रममा अखाद्य रङ्ग (रोडामाइन बी) हालेर कटन क्याण्डी बनाइरहेको भेटिएको छ ।

त्यसै गरी अनुज्ञा पत्र नै देखाउन नसकेपछि लालबन्दी नगरपालिका–२, जुटपानीमा सिरिस ब्रान्डको पानी उत्पादन गर्ने नेशनल वार्टर प्रा।ली। बन्द गराइएको छ । प्रशोधित पानी बनाउँदा मेसिनको प्रयोग गर्नुपर्नेमा यस उद्योगमा हातबाटै पानी भर्ने काम गर्ने गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

जुट पानीमै तृष्णा ब्रान्डको पानी उत्पादन गर्ने शिव पार्वती वार्टर एन्ड बेभरेजले नवीकरण नगरी सञ्चालन गरेको पाइएको छ । बन्द गरिएका चार वटै पानी उद्योगको पानीको नमुना जनकपुर लगेर प्रयोगशालामा परीक्षण गरेपछि जाँच परीक्षण रिपोर्ट अनुसार कारबाही गरिने खाद्य निरीक्षक तिवारीले बताए।

हरिवनमा रहेका पानी उद्योगले लापरबाही गरेको गुनासो आएपछि जनकपुरबाटै खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालयको टोली आएर पानी उद्योगको अनुगमन गरेको हो । जनकपुरसहित खाद्य प्रविधिको मलङ्गवास्थित डिभिजन कार्यालय, इलाका प्रशासन कार्यालय हरिवन, हरिवन नगरपालिकाका प्रतिनिधि, पत्रकारलगायतको उपस्थितिमा पानी उद्योगको अनुगमन गरिएको हो ।

यसअघि भदौ २ गते हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कमल) को नेतृत्वमा नगरपालिकाको अनुगमन टोलीले नगरभित्रका दुई वटा पानी उद्योगको अनुगमन गरेको थियो ।


सम्बन्धित समाचार