Logo

१४ भदौ,काठमाडौं । गृहमन्त्री रमेश लेखकले १०० दिनभित्र आफूले गर्ने कामको फेहरिस्त सार्वजनिक गरेका छन् । गृहमन्त्री भएपछि पहिलो पटक पत्रकार भेटघाट कार्यक्रम राखेका लेखकले आफूले गर्नसक्ने कामको मात्रै सूची उल्लेख गरेको बताए ।

उनले बढ्दो वित्तीय अपराध अनुसन्धानलाई थप विशिष्ठीकृतरुपमा अनुसन्धान गर्न वित्तीय अनुसन्धान ब्युरो गठन गर्ने बताए । उनले भने, ‘अहिले पछिल्ला दिनमा वित्तीय अपराध बढ्दो छ, अनुसन्धान गर्न छुट्टै ब्युरोको आवश्यकता देखियो, त्यही भएर वित्तीय अनुसन्धान ब्युरो गठन गर्ने तयारी गरेका छौं ।’

गृहमन्त्री लेखकले ट्राफिक नियम उल्लंघन गर्नेमाथि कारबाहीलाई विशिष्ठीकरण गर्ने, राष्ट्रिय परिचय पत्रलाई थप व्यवस्थित पार्ने, कुरिनटारमा रहेको सशस्त्र प्रहरीको विपद् शिक्षालयबाट विद्यार्थीहरूलाई तालिम दिएर स्वयंसेवकका रुपमा खटाउने, केन्द्रीय नागरिकता सूचना प्रणालीलाई वडास्तरमा लैजाने, टिंकर र कोरला नाकामा अध्यागमनको कार्यालय स्थापना गर्ने र त्यहीबाट काम गर्ने जानकारी दिए ।

साथै उनले प्रहरी ऐनको विधेयकलाई मन्त्रिपरिषद्बाट निर्णय गराएर संसदमा दर्ता गर्ने, सशस्त्र प्रहरीको ऐनलाई टुंग्याएर मन्त्रिपरिषद्मा पठाउने र नुवाकोटमा बन्दै गरेको कारागार सञ्चालनमा ल्याउने पनि जानकारी गराए ।

‘गृह मन्त्रालयको मुख्य काम भनेको जनताको धनजनको सुरक्षा, शान्ति सुरक्षा, नागरिकता वितरणसँगै आम नागरिकलाई ढुक्कले काम गर्न दिने वातावरण सिर्जना गर्ने नै हो,’ लेखकले भने,‘ विधिको शासन कायम गर्न मन्त्रालय लागिपरेको छ ।’

‘प्रहरी सरुवा–बढुवा सामान्य प्रक्रिया हो’

गृहमन्त्री लेखकले आफू आएपछि प्रहरीको सरुवा–बढुवामा हस्तक्षेप नगरेको दाबी गरे । उनले भने, ‘प्रहरीको सरुवा–बढुवा सामान्य प्रक्रिया हो, यसलाई धेरै ठूलो मुद्दा बनाउन जरुरी छैन, डेढ महिनामा मैले पहिलेका सरकारले भन्दा कमै सरुवा गरेको छु ।’ उनले प्रहरी अधिकृत सरुवा गर्दा उसको ठाउँमा अर्को उही दर्जा र कार्यक्षमता भएको जाने भएकाले त्यसलाई अनावश्यक चर्चा नगर्दा नै उचित हुने बताए । उनले आफ्नो ध्यान सरुवा–बढुवातर्फ नभएको प्रष्ट पारे ।

‘टीआरसी ऐन बन्यो, बम फेला पर्दैछन्’

गृहमन्त्री लेखकले सशस्त्र द्वन्द्वमा मारिएका, बेपत्ता पारिएका, अंगभंग भएका पीडितलाई न्याय दिने उद्देश्यले टीआरसी ऐन बनेको पर्सीपल्टै द्वन्द्वमै लुकाइएका बम विष्फोटका कारण दुई बालबालिकाको मृत्यु भएकोमा चिन्ता व्यक्त गरे ।

‘हामीले अस्तीमात्रै संक्रमणकालीन न्याय टुंग्याउन टीआरसी ऐन पारित गर्यौं, हिजो मात्रै बम विस्फोटका कारण दुई बालबालिकाले ज्यान गुमाए,’ उनले भने, ‘अझै पनि बम फेला परेकाले सेनाको डिस्पोजल टोलीले डिस्पोज (निष्कृत) गरेका छन् । यसका बारेमा प्रहरी नेतृत्वलाई पनि मैले अझै अनुसन्धान गर्न निर्देशन दिएको छु ।’

‘प्रहरी ऐनको विधेयक बन्दै छ, प्रहरी अदालत पुगिरहेका छन्’

गृह मन्त्रालयले प्रहरी ऐनको विधेयक मस्यौदालाई अन्तिम रुप दिने तयारी गर्दै गर्दा प्रहरी अधिकारीले भने अवकाशको मुखमा धमाधम सर्वोच्च अदालतमा निवेदन दिइरहेका छन् । यसतर्फ केन्द्रित हुँदै गृहमन्त्री लेखकले भने, ‘नेपाल प्रहरीका केही कानून धेरै पुराना भएकाले हामीले प्रहरी ऐनको विधेयकको मस्यौदालाई अन्तिम रुप दिएर मन्त्रिपरिषद् पठाउने तयारी गरिरहँदा केही प्रहरी अधिकृतले सर्वोच्च अदालतमा निवेदन दिनुभयो । त्यसमा सर्वोच्चले दिएको अन्तरिम आदेश सैद्धान्तिक रुपमा मेल नखाने देखिएपछि भ्याकेट निवेदन दिएका छौं ।’

उनले २०७०–७१ मा सर्वोच्चले नियमावलीमा भएको व्यवस्था ऐनमा व्यवस्था गर्न सरकारलाई दिएको आदेश यतिका दिनसम्म पालना नभएको भन्दै आफू पदभार ग्रहण गरेलगत्तै यसबारेमा चासो राखेर भटाभट काम गरिरहेको बताए ।

‘सञ्चारकर्मीलाई असुरक्षित बनाउनु हुँदैन’

गृहमन्त्री लेखकले सञ्चारकर्मीको जिउज्यानको सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्ने बताए । पशुपतिनाथमा भएको कोटीहोममा केही पत्रकार कुटिएकोतर्फ ध्यानाकर्षण गर्दै मन्त्री लेखकले आगामी दिनमा प्रहरी सचेत हुन प्रहरी नेतृत्वलाई निर्देशन दिएको जानकारी लेखकले गरे । उनले भने, ‘त्यो घटना नहुनुपर्ने थियो, मैलेलगत्तै प्रहरीसँग कस्तो लापरबाही भयो भनेर बुझेँ । आगामी दिनमा त्यस्तो गल्ती नगर्न र पत्रकारको सुरक्षामा ध्यान दिन निर्देशन दिएको छु ।’

सीमामा सुक्ष्म निगरानी

गृहमन्त्री लेखकले नेपाल–भारत र नेपाल–चीनको सीमा क्षेत्रमा सुक्ष्म निगरानी बढाइएको बताए । पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी महानिरीक्षक भने उपस्थित थिएनन् । यसबारे मन्त्री लेखकले भने, ‘आज सशस्त्रको आईजीसाब पत्रकार सम्मेलनमा हुनुहुन्न, उहाँ सीमाका प्रहरी चौकी र कार्यालयमा अनुगमन सँगै सीमा क्षेत्रको निगरानीका लागि गर्नुपर्ने कामको प्रतिवेदन बनाउन खटिनुभएको छ ।’

बंगलादेशमा भएको घटनातर्फ इंगित गर्दै गृहमन्त्री लेखकले त्यहाँबाट मानिस नेपाल छिर्नसक्ने सम्भावनालाई समेत मध्यनजर गरेर सीमामा कडाइ गरिएको बताए । उनले सीमा क्षेत्रबाटै अध्यागमनको काम शुरू गर्न लागिएको जानकारी दिए ।


सम्बन्धित समाचार