Logo

१६ भदौ, नेपालगञ्ज । महिलाको महान् पर्व तिज आउनु अघि नै अधिकांश महिला सम्बद्ध सङ्घ संस्थाहरूले ठुला होटलमा दर खाने नाममा पार्टी गरेर लाखौँ रुपियाँ खर्च गरिरहेका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका महिला सदस्यले तिज मनाउन लाग्ने खर्च कटाएर स्वास्थ्य समस्यामा परेका एक व्यवसायी महिलालाई आर्थिक सहयोग गरेकी छन् ।

सङ्घका अध्यक्ष टङ्कबहादुर धामी नेतृत्वको पदाधिकारी र सदस्य सम्मिलित टोलीले बिरामी कृष्णा शाहीलाई तीज खर्च कटाएर बाँकी रहेको ७६ हजार ३०० रुपियाँ सहयोग प्रदान गरेको हो ।

नेपालगन्ज औद्योगिक क्षेत्रभित्र कृष्णा चमेना गृह सञ्चालन गरेकी शाही एपेन्डिसाइटिसको इन्फेक्सनबाट गम्भीर प्रकृतिको बिरामी लड्दै छिन् । लामो समयदेखि उपचार गराउनु परेकाले उनको उपचारमा आर्थिक समस्या भएपछि तीजको खर्च कटाएर सहयोग गरिएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका महिला उपाध्यक्ष मन्दिरा पाण्डेले बताईन् ।

उनले सङ्घको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ५१ हजार रुपियाँ र कार्य समिति पदाधिकारी र सदस्यबाट सङ्कलन गरेको २५ हजार ३०० रुपियाँ औद्योगिक क्षेत्रभित्र रहेको निवासमै पुगेर शाहीका पतिलाई रकम हस्तान्तरण गरिएको बताईन् ।

यसअघि सङ्घले महिला उपाध्यक्ष पाण्डेको संयोजकत्वमा शाहीका लागि सहयोग सङ्कलन गर्न इन्दिरा शाही र उमा ग्राण्डन सदस्य रहेको समिति गठन गरेको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा सङ्घका अध्यक्ष टङ्क धामीसँगै महिला उपाध्यक्ष पाण्डे, महासचिव भीमबहादुर रानाभाट, उपमहासचिव टेकबहादुर खड्का, कोषाध्यक्ष मक्खन धामी, प्रवक्ता डम्बरबहादुर चन्द, सदस्यहरू इन्दिरा शाही, शिव दाहाल, राजीव तलंगा र सुदन केसीको सहभागिता थियो ।


सम्बन्धित समाचार