Logo

१६ भदौ,काठमाडौं । गत अक्टुबर ७ मा हमासले इजरायलबाट बन्धक बनाएर लगेकामध्ये ६ जनाको शव फेला परेको इजरायली सेनाले पुष्टि गरेको छ ।

सेनाले आइतवार पत्रकार सम्मेलनमार्फत हमासको नियन्त्रणमा रहेकामध्ये एक अमेरिकी–इजरायली नागरिक हर्स गोल्डबर्ग पोलिनलगायतको शव पहिचान भएको बताएको हो । पोलिनलाई गएको वर्ष अक्टोबर ७ मा नोवा संगीत महोत्सवबाट अपहरण गरिएको थियो ।

पोलिनसँगै सुरुङभित्र फेला परेका अन्य व्यक्ति पनि नोवा संगीत महोत्सवबाट अपहरण गरिएका थिए । ती व्यक्तिहरूमा ३२ वर्षका एलेक्स लोबानोभ, २४ वर्षका इडेन येरुशाल्मी, २५ वर्षका ओरि डानिनो र २७ वर्षका अलमोग सारुसी छन् ।

साथै ४० वर्षकी कारमेल गाटलाई पनि हमासका लडाकुहरूले किब्बुट्ज बेएरीबाट अपहरण गरेका थिए । उनी आफ्ना अभिभावकसँग भेटघाट गर्न गएकी थिइन् ।

पोलिनको परिवारले यो समाचारलाई अत्यन्त दुःखद र असह्य क्षति भन्दै सार्वजनिक वक्तव्य जारी गरेको छ । पोलिनलगायत अन्य इजरायली नागरिक अपहरणमा परेपछि उनीहरूको परिवारले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई बन्धकहरूको रिहाइका लागि सम्झौता गर्न दबाब दिँदै आएका थिए ।

इजरायली डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता ड्यानियल हागारीले पत्रकार सम्मेलनमा भने, ’हामी त्यहाँ पुग्नुअघि नै हमासले बन्धकको हत्या गरेको थियो ।’ पत्रकार सम्मेलनका क्रममा इजरायली सेनाका प्रवक्ता हागारीले बेपत्ता भएका नेपाली नागरिक विपिन जोशीबारे भने केही बोलेनन् । यसले हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिनको अवस्था भने अझै अज्ञात रहेको पुष्टि गरेको छ ।

गाजाको दक्षिणी शहर रफाहको सुरुङभित्र यी शवहरू फेला परेका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै गोल्डबर्ग–पोलिनका अभिभावकको साहस र दृढताका लागि प्रशंसा गरेका छन् ।

पोलिनको हत्याले इजरायल मात्र होइन अमेरिकामा पनि गहिरो असर पारेको छ । पोलिनका परिवारले उनलाई घर फर्काउन उच्च अमेरिकी अधिकारीसँग लगातार भेटिरहेका थिए ।

गाजामा जारी युद्धको कारण ४० हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन् । यस घटनापछि नेतन्याहूको नेतृत्वमा इजरायली सेनाले हमासविरुद्धको युद्धलाई अझै कडा पार्ने संकेत दिएको छ । बन्धक परिवारहरूको दबाब र नेतन्याहूको अडानबीच तनाव बढ्दै गएको हो ।

अमेरिकी राष्ट्रपति बाइडेनले युद्ध अन्त्यको आह्वान गर्दै सम्झौताको सम्भावना रहेको बताएका छन् । उनले वासिंगटन डीसीमा आयोजित एक पत्रकार सम्मेलनमा हमासविरुद्धको लडाइँलाई समाप्त गर्न तत्काल कदम चाल्नुपर्ने आवश्यकता रहेको बताए ।

यस घटनाले इजरायलमा नेतन्याहूको सरकारप्रति रोष बढाएको छ । बन्धक परिवारहरूले नेतन्याहूलाई हमासको नियन्त्रणमा रहेका इजरायली नागरिकलाई देश फर्काउन कुनै सम्झौता नगरेकोप्रति आक्रोश व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार