Logo

१७ भदौ, बारा । जनजागरण युवा क्लब (जेजेवाइसी)ले शिक्षा, स्वास्थ्य, संरक्षण जस्ता महतपूर्ण क्षेत्रमा उत्कृष्ट कार्य गरेको जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले बताएका छन् । संस्थाको आइतबार आयोजित २६ औ बार्षिक साधारणसभा तथा सामाजिक परिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले विभिन्न क्षेत्रमा उदाहरणीय कार्य गरेर जेजेवाइसी समाजमा अर्थपूर्ण क्रान्ति गर्न सफल देखिएको बताएका हुन् ।

युवाहरुमा स्वयंसेवाको भावना विकास गर्दै समावेशि शिक्षा प्रणाली तथा सहभागितामूलक सामाजिक सचेतना अभियानका सबै कृयाकलाप प्रशंसायोग्य रहेको टिप्पणी गर्दै पौडेलले थप नयाँ योजनामा सहकार्य गर्न पालिका तयार रहेको प्रतिवद्धता जनाए ।

गैरसरकारी संस्था जेजेवाइसीले बाराको कलैयामा आयोजना गरेको कार्यक्रममा बोल्दै महागढिमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले आफ्नो पालिकामा गरेको लगानी र प्रभावकारी कृयाकलापका लागि धन्यवाद दिए । दक्ष तथा अनुभवी जनशक्ति तथा समुहगत कार्य गर्ने शैलीका कारण जेजेवाइसीले मधेशप्रदेश मै अलग पहिचान बनाएको उनले दावी गरे ।

संस्थाले केहि वडामा महिला कृषक समुह बनाएर विभिन्न सामाजिक सचेतनाका कृयाकलाप सँगै जलवायुमैत्री खेतिपातिका लागि गरेको अभ्यास प्रभावकारी लागेर अहिले पालिकाको निति तथा कार्यक्रममै उल्लेख गरेर पालिकाले हरेक वडामा महिला समुह बनाउने कार्य भइरहेको समेत उनले बताए । यस सहकार्यात्मक प्रयासले अनावश्यक विषाधी प्रयोगबाट माटो तथा मानव जिवनको रक्षा गर्न सकिने उनको तर्क छ ।

कोल्हवी नगरपालिकाका मेयर रामप्रसाद चौधरीले संस्थाको सफलताको कामना गर्दै समाजिक कुरितिका विरुद्ध तथा विषेश गरी शिक्षाको क्षेत्रमा सहकार्य गर्ने इच्छा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शषिधर घिमिरेले जिल्लाका विभिन्न समस्या सङ्ग जुधेर नागरिकका लागि जेजेवाईसीले गरेको प्रयासले सकारात्मक परिणाम दिएको लाभग्राहीको अनुभवबाट सुन्न पाएको बताए । उनले लाभग्राहीको सफलताका कथाहरु उनीहरुबाटै सुन्न पाएकोमा हर्ष व्यक्त गर्दै जेजेवाईसीले गर्नुपर्ने सुधारका पक्ष पनि खोतल्नुपर्ने बताए । उनले सरकारी विद्यालयको अवस्था दयनिय रहेको भन्दै सुधारका लागि गैर सरकारी संस्था सँगै स्थानिय सरकार पनि सकृय हुनुपर्नेमा जोड दिए ।

बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले संस्थाले समेटेका विषयगत क्षेत्र समाजको अपरिहार्य आवश्यताको विषय भएको भन्दै खुशी व्यक्त गरे । समाजको समग्र विकासका लागि मान्छेको धारणा र बिचार परिवर्तन गर्नु आजको आवश्यकता भएको बन्दै प्रहरीउपरिक्षक खड्काले यसतर्फ सबैको ध्यान जानु जरुरी रहेको बताए ।

उनले हिंसाका मुद्दा दिनानुदिन बढेको बिषयमा समिक्षा गर्ने बेला भएको बताए । आत्म हत्याका घटना बढेको तथ्यांकले कहिं न कहिं सबै चुकेको देखिएकोले यसको समाधानमा सबै बिच सहकार्य हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा कोषाध्यक्ष सियाराम यादवले संस्थाको आय ब्यय तथा कार्यकारी निर्देशक डा.श्रीनिवास बैठाले वार्षीक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको अध्यक्षता गरेका संस्थाका अध्यक्ष भैयाराम यादवले प्रदेश १ को मोरङ लगायत मधेस का सबै जिल्ला (पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सिराहा, सप्तरी र महोत्तरी) मा कार्यरत जेजेवाइसीले २६ बर्षे आफ्नो यात्रामा अनेक खालका समाजिक कार्य गरेको बताए । उनले संस्थाको मुख्य उद्देश्य नै अधिकारको प्रयोग, कर्तव्यको भावना, आपसी सम्मान र पारस्परिक सह अस्तित्वको माध्यमबाट सबै नागरिकलाई न्यायपूर्ण, शान्तिपूर्ण, समृद्ध र सम्मान जनक जीवन यापनको बाताबरण निर्माण गर्नु रहेको बताए । अध्यक्ष यादवले आज सम्मको यात्रा तय गर्नमा सहयोग पुर्याएका ज्ञात अज्ञात सबैमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा समेत सबैको सहयोग र माया स्नेह दिएर शान्ति, समृद्ध र न्यायपूर्ण समाज निर्माणको पक्षमा भुमिका खेल्न आग्रह गरे ।

मन्जु यादव र पिन्की साहले गित मार्फत स्वागत गरेको कार्यक्रममा जनशक्ति युवा क्लबका अध्यक्ष विशाल कुमार लहेराले एकिकृत भएर सामाजिक कार्य गर्न सिकाएकोमा आभार व्यक्त गरे । युवा स्वयंसेवक अरुण पटेल, मञ्जु यादव लगाएतले आफ्नो गाउँ बनाउन आफैंले प्रयास गर्ने तरिका सिकाएकामा खुशि लागेको बताए । बारा दोहोरी निवासी किसमती देवी रामले शिक्षाको महत्व जेजेवाइसीले बझाए पछि गाउँका सबै दलित बालबालिकालाई विद्यालय पठाउन तथा निरन्तरताको लागि खोजी गर्न थालेको र अहिले सकारात्मक परिवर्तन देख्न पाएको बताइन् ।

सानैमा विवाह, २ बच्चा भए लगत्तै श्रीमान्को देहान्त र परिवारको अवहेलना पश्चात् माइतीको शरणमा बसेकी रुक्साना खातुनले अप्ठ्यारोका समयमा हिम्मत जगाएर ५० हजार बराबरको मसला मिल सहयोग गरेकोमा अहिले किराना थपेको तथा सन्तानलाई पढाउन थालेको बताइन् । त्यस्तै किराना व्यवसायी रिना देवी केंवटले जुवातासमा पैसा बरवाद गर्ने तथा मदिरा पान गरी कुटपिट गर्ने श्रीमान्ले बनीले आजीत भएर माइती तथा घर समाजको कटाक्षले हारेर विष पिउने सोच बनाएको समयमा आम्दानीको बाटो र हौसला दिएर जेजेवाइसीले बाँच्ने रहर जगाइदिएको बताएन् । अहिले श्रीमान्मा सुधार आएको तथा दिनचर्या सहज भएको जानकारी गराइन् ।

गढिमाइ दर्शनका लागि जानेहरुले नाक समातेर हिंड्ने, घृणा गर्ने आफुहरुको समुदायमा शौचालय तथा नुहाउने घर निर्माण गरेर सरसफाई बारे सचेत गराएको भन्दै महागढिमाई २ मुसहरी टोलकी पुनकली देवी पासवानले अहिले यात्रीहरु गाडी रोकेर त्यहि बाटोमा गफ गर्ने गरेको, टोलवासीले सुँगुर पाल्न छाडेर बाख्रा पाल्न थालेको, बच्चाहरु पढ्ना जाने र महिला हरु कपडा लगाएै अवस्थामा नुहाउने बाध्यताबाट मुक्त भई नुहाउने घरमा स–सम्मान नुहाउन पाएको चर्चा गरिन् ।

राष्ट्रिय अनुसन्धान बाराका प्रमुख दिपक खड्का, महिला सेल प्रमुख प्रहरी निरीक्षक बिमला कठायत, कलैया उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख प्रल्हाद बर्णवाल, दुर्गा माबी का प्रधानाध्यापक मनोज यादव, नेरामावि रजघट्टाका प्रअ राजु प्रसाद अधिकारी लगायतकाको सहभागिता रहेको कार्यक्रमका बिच उत्कृष्ट वर्ष कर्मचारी २०२४ को उपाधीबाट जेजेवाईसीका कार्यक्रम प्रबन्धक मनोज यादवलाई सम्मान गरिएको थियो ।


सम्बन्धित समाचार