Logo

१७ भदौ,बाँके । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्ज एकीकृत जाँचचौकी (आइसीपी)लाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताएका छन् ।

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय आन्तरिक प्रशिक्षणका क्रममा नेपालगञ्जमा रहेका उनले आज बिहान नेपालगञ्ज आइसीपीको स्थलगत अवलोकन गर्दै भने, ’गौरव गर्न लायक संरचना निर्माण भएको छ, यसलाई प्रभावकारी बनाउन हामी सबै लाग्नु पर्दछ ।’

आइसीपी मुलुकका सबै नाकामा बनाउने सरकारी नीति रहेको उल्लेख गर्दै उनले पहिला बनेका आइसीपीले केही समस्या झेल्नुपर्ने हुनसक्ने बताए ।

आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणमा रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै नयाँ दिल्लीबाट नेपालगञ्ज आइसीपीको संयुक्त रूपमा स्वीच अन गरी भर्चुअल माध्यमबाट शुभारम्भ गरेको सम्झना गर्दै उनले यसको प्रभावकारी सञ्चालनका लागि सदैव तत्पर रहेको उल्लेख गरे ।

अवलोकनका क्रममा नेपालगञ्ज भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले नेपालगञ्ज आइसीपीका बारेमा जानकारी गराएका थिए । भारत सरकारको एक अर्ब ४७ करोड भारु लागतमा ८८ बिघा क्षेत्रफलमा नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा आइसीपी निर्माण भई सञ्चालनमा आएको छ ।


सम्बन्धित समाचार