१८ भदौ, हेटौंडा । हेटौंडामा भएको २३ वर्षीया युवतीको हत्या काण्डामा संलग्न मुख्य आरोपित पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित रत्न होटलमा ९ भदौमा भएको एलिसा न्यौपानेको हत्यामा संलग्न मुख्य आरोपित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा हेटौंडा–४, कमलडाँडाका समीर खान रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले बताए । उनका अनुसार, खानलाई भाग्न सहयोग गरेको आरोपमा यसअघि नै उनकी आमा ५५ वर्षकी सैरुन खान, श्रीमती २६ वर्षीया रविना खातुन र ससुरा पर्सा वीरगञ्जका ५६ वर्षीया लालबाबु खाँ पठानसहित उनका छोरा ३० वर्षीय फैयाज अहमद पक्राउ परिसकेका छन् ।
हेटौंडा–११ थानाभ¥याङकी न्यौपानेको शव भदौ १० गते होटलको कोठा नम्बर २०५ मा फेला परेको थियो । प्रहरी नायव उपरिक्षक भण्डारीका अनुसार, होटलभित्रै उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
एलिसाको हत्या भएको दुई दिन पछिसम्म अर्थात् ११ भदौसम्म खानले एलिसाका १७ वर्षीय भाइसँग सामाजिक सञ्जालमा कुराकानी गरेको पाइएको थियो । कुराकानीको क्रममा समीरले आफूले अञ्जानमै हत्या हुन पुगेको स्वीकारेको एलिसाको परिवारले जनाएको छ ।
प्रहरी हिरासतमा रहेका उनीहरु उपर अनुसन्धान गर्न अदालतले ५ दिनको म्याद दिएको प्रहरी नायव उपरिक्षक भण्डारीले जानकारी दिइन् ।