Logo

१८ भदौ,लहान । सिरहा प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा बढी मूल्य बरावरको चाँदीका विभिन्न गरगहनासहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानले लहान ७ दुर्गामन्दिरबाट मोरङ्ग उर्लावारी नगरपालिका ५ का ३० वर्षीय दीपेन्द्र विश्वकर्मालाई करिब ८ केजी चाँदीको गहनासहित पक्राउ गरेको हो ।

चाँदीका गहना बोकेर लहान बजारबाट दुर्गा मन्दिरतर्फ आउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले पैदल यात्रीले बोकेको कालो रङ्गको झोला चेकजाँच गर्दा १० लाख ४० हजार मूल्य बराबरको करिब ८ केजी चाँदीको गहनासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

प्रहरीले कहाँबाट र कसका लागि गहना ल्याएको भन्ने अनुसन्धान गरिरहेको र गर–गहनासहित विश्वकर्मालाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सापकोटाले जानकारी दिए ।


सम्बन्धित समाचार