Logo

१८ भदौ,वीरगञ्ज । रौतहटको बौधीमाई नगरपालिकाको स्वास्थ्य चौकीमा अक्सिजन ग्यासको अभावमा एक नवजात शिशुको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ४ स्थित इनरवारी स्वास्थ्य चौकीमा एक नवजात शिशुको आज बिहान मृत्यु भएको हो ।

जन्मिएको करिब २ घण्टामै नवजात शिशुको मृत्यु भएको शिशुका बुबा गौरीशंकर पटेलले बताए । उनी बौधीमाई नगरपालिकाको वडा नम्बर ४ निवासी हुन् । उनका अनुसार आज बिहान पौने ३ बजे इनरवारी स्वास्थ्य चौकीमा छोरीको जन्म भएको थियो ।

बर्थिङ सेन्टरमा जन्मिएको केही समयपछि शिशुको मुटुको चालमा समस्या आउँदा थप उपचारका लागि बीरगन्ज रिफर गरिएको थियो । उपचारका लागि बीरगन्ज ल्याउने क्रममा एम्बुलेन्सको अक्सिजन सिलिन्डरमा ग्यास अभाव हुँदा शिशुको मृत्यु भएको इनरवारी स्वास्थ्य चौकीका इन्चार्ज अकलेश ठाकुरले बताए ।

उनका अनुसार बच्चा नरुँदा परिवारजन तथा अस्पतालका कर्मचारीहरु तनावमा आए । त्यसपश्चात सबैको सल्लाह अनुसार शिशुलाइ थप उपचारका लागि वीरगन्ज पठाउने निधो भयो । उनले भने, ’तर अस्पतालमा एउटा मात्र एम्बुलेन्स उपलब्ध थियो, जसमा हतारहतारमा लानुपर्ने भयो । तर दुर्भाग्य त्यो एम्बुलेन्सको अक्सिजन सिलिन्डरमा ग्यास नै रहेनछ । जस कारण बिच बाटोमा बच्चाको मृत्यु भएको हो ।’

बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार यादवले स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा अक्सिजन सिलिन्डरमा ग्यास अभाव नभएको प्रतिक्रिया दिए । बच्चालाइ थप उपचारका लागि लैजाने क्रममा एम्बुलेन्सको अक्सिजन सिलिन्डरमा ग्यास अभाव हुँदा शिशुको मृत्यु भएको उनले बताए ।

बिहान करिब ५ बजे नवजात शिशुलाइ वीरगन्जको तराई अस्पतालका चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।


सम्बन्धित समाचार