Logo

१९ भदौ,जनकपुरधाम । मानवअधिकार रक्षकको सुरक्षा र संरक्षण तथा शहिद प्रतिष्ठानसँग जोडिएका दुई विधेयक अघि बढाउन मधेश प्रदेशमा सक्रिय मानवअधिकारकर्मीहरूले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको ध्यानाकर्षण गराएका छन् ।

जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री सिँहलाई भेटेर मानवअधिकारकर्मीहरूको समूहले मधेश सहिद प्रतिष्ठानले मधेशलगायत आन्दोलनका सहिद तथा घाइतेलाई मात्र समेटेकोमा सो संस्थाको कार्यक्षेत्रभित्र अन्य बेलाका सहिद, घाइते र द्वन्द्वपीडितलाई राख्नेगरी कानुन ल्याउन माग गरे ।

उनीहरूले मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी कानुनलाई समेत अगाडि बढाउन मुख्यमन्त्री सिँहलाई आग्रह गरे । विभिन्न चरणमा छलफल भई दुवै कानुनका मस्यौदाले अन्तिम रूप लिइसकेको र केही कानुनी प्रक्रियासमेत अघि बढिसकेको भन्दै छिटोभन्दा छिटो दुवै विधेयक पारित गराउन उनीहरूले मुख्यमन्त्री सिँहको ध्यानाकर्षण गराए ।

प्रत्युत्तरमा मुख्यमन्त्री सिँहले कानुनको मस्यौदामा थप परिमार्जन गर्न दुवै विधेयकलाई सम्बद्ध मन्त्रालय र निकायमा पठाई विधेयकलाई अघि बढाइने बताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश संयोजक राजु पासवानको अगुवाइमा मुख्यमन्त्री कार्यालय पुगेको टोलीमा अधिवक्ताराजकुमार महासेठ, जमुना भुजेल, निकेश यादव, प्रियंका ठाकुर, सन्तोषकुमार यादव, सन्तोषकुमार यादव र सञ्जू पंजियार आदि सम्मिलित थिए ।


सम्बन्धित समाचार