Logo

१९ भदौ,काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भए सशक्त प्रतिकार गर्ने बताएका छन्।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठकमा उठेका जिज्ञासाको जवाफ दिँदै प्रचण्डले दुई दलीय सरकारले जनविरोधी काम गर्न सुरु गरेको भन्दै संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भए शसक्त प्रतिकार गर्ने बताएका हुन्।

त्यस्तै उनले वर्तमान सरकारले यसअघि माओवादी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई उल्टाउने काम गरेको भन्दै सदनमा सशक्त रुपमा आवाज उठाउनुपर्नेमा जोड दिएका थिए।

सदनमा प्रतिपक्षीको भूमिकालाई बलियो बनाउनका लागि अन्य प्रतिपक्षी दलहरुलाई पनि साथमा लिएर अघि बढ्नुपर्नेमा प्रचण्डले जोड दिएको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

त्यस्तै जटिल परिस्थीतिको चुनौती सामना गर्नका लागि पार्टीलाई एकतावद्ध बनाउने निर्णय गरिएको सापकोटाले बताए। उनले प्रधानमन्त्री केपी ओलीले जनयुद्धको भावना बिपरितको अभिव्यक्ति दिएकाले भन्दै यसले समग्र शान्तिप्रक्रियामा असर पार्न सक्ने दाबी गरे।

अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठकमा ४० जनाले धारणा राखेका थिए। आसन्न केन्द्रीय समितिको बैठकको तयारी स्वरुप आयोजना गरिएको कार्यक्रमअन्तर्गत यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा प्रदेश परामर्श बैठक सम्पन्न भइसकेको छ।

अब प्रदेश नम्बर १ र मधेश प्रदेश तथा जेष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकार समितिको बैठक बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ। प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्ने र सो बैठकमार्फत ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रको तयारी छ।

 


सम्बन्धित समाचार