Logo

२० भदौ, धनुषा । धनुषामा मावलीघरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर ज्यान गएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर हिजो बेलुकी उनीहरूको ज्यान गएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए ।

ज्यान गुमाउनेहरुमा १० वर्षीय आदित्यकुमार साह,  नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह रहेका छन् । मावलीतर्फका हजुरबुवा महावीर साहको घरमा भोज खान गएका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशङ्का गरिएको छ ।

मृतक बालकहरू साहका तीनवटा छोरीका छोरा रहेको प्रहरीको भनाइ छ । बेलुकी झण्डै ७ः३० बजेतिर पोखरीमा बालकको शव भेटिएको र सबै जना भोजमा व्यस्त रहेका बेला पौडी खेल्न गएका बेला ज्यान गएको हुनसक्ने आशङ्का गरिएको वडाध्यक्ष गङ्गा साहले जानकारी दिए ।

तीनै जनाको शव परीक्षणका लागि  प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


सम्बन्धित समाचार