Logo

२० भदौ, वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण मन्त्रीको हस्तक्षेपले राकिएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको हस्तक्षेपले प्रमुख प्रशासकिय अधिकृत काफ्लेको अमेरिका भ्रमण रोकिएको हो ।

गुप्ताले यूएसएडको एक कार्यक्रमका लागि अमेरिका जान मंगलबार (१८ भदौ) भिसा पाएकी जीतपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) उर्मिला काफ्लेको भिसा मंगलबार नै रद्द गर्ने निर्णय गरेका हुन् ।

काफ्लेसहित १२ जना कर्मचारी पब्लिक फिनान्सियल म्यानेजम्येन्ट विषयक ४ दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन अमेरिका जान मनोनयनमा परेका थिए । त्यसमध्ये २ जना कर्मचारीको भिसा नै लागेन भने काफ्लेलाई मन्त्री गुग्ताले नै विदेश जान रोक्ने निर्णय गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकमै प्रधामनन्त्री केपी शर्मा ओलीले विदेश जाने सरकारी टोलीमा महिला कर्मचारीलाई बढी प्राथमिकता दिन र कम्तीमा एक जना भए पनि सहभागी गर्न मन्त्रालयहरुलाई निर्देशन दिएका थिए । तर, मन्त्री गुप्ताले ‘एक्सपिरिन्सियल लर्निङ/ट्रेनिङ भिजिट’मा जाने तय भइसकेको महिला कर्मचारीको मनोनयन कारण समेत नखुलाई रद्द गरेका छन् ।

यूएसएडले १७ जुलाई २०२४मा पत्र लेख्दै ९ देखि १२ सेप्टेम्बरसम्मको कार्यक्रमका लागि निम्तो दिएको थियो । मन्त्रालयले ६ साउनमा उनलाई मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी अमेरिका जाने टोलीमा मनोनयन गरेको थियो । त्यतिबेला गुप्ता मन्त्री भएर आइसकेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिकमा काफ्ले प्रमुख प्रशासकीय अधिकृत भएर आएपछि नगर सभागर्ने विषयमा नगरप्रमुख राजन पौडेललाई सहयोग गरेको भन्दै एमालेबाट निर्वाचित उपप्रमुख भोला अधिकारी सहितका जनप्रतिनिधिहरुले विरोध जनाएका थिए । त्यही बेलादेखि प्रशासकीय अधिकृत काफ्लेविरुद्ध नेकपा एमाले जितपुर सिमराका नेताहरु लगायत मन्त्रालयसम्मका मन्त्री समेत लागेका छन् । त्यसैकारण उनको भ्रमण रद्द गरिएको स्रोतको भनाई छ ।

उनको अमेरिका भ्रमण रद्द गर्नुको कुनै ठोस् कारण नै नखुलाई अधिकृत काफ्लेको भ्रमण मन्त्रीस्तरीय निर्णयबाट रद्द गरिएको सूचना प्रकाशित गर्नुले पनि भ्रमण रोकिनुमा मन्त्रीकै ठाडो हस्तक्षेप देखिएको प्रष्ट हुन्छ ।


सम्बन्धित समाचार