Logo

२० भदौ,वीरगञ्ज । धनुषाको सहिदनगर नगरपालिकाको सहिद सूर्यनाथ रान स्मृति अस्पताल सञ्चालनमा आउने भएको छ ।

मधेश सरकारले स्वामित्व लिदैँ स्वास्थ्य उपकरण तथा औषधी पठाएपछि अस्पतालको सेवा सुरु भएको हो । धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ८ डुमरियास्थित सहिद सूर्यनाथ रान स्मृति अस्पताल लामो समयदेखि बन्द थियो ।

अस्पतालको भौतिक संरचना खडा भएपनि कसले सञ्चालन गर्ने ? भन्ने विषयमा अन्योलता रहेकोले अस्पतालबाट सेवा प्रवाह हुन सकिरहेको थिएन । यही १९ असारमा मधेश सरकारले प्रदेशका ४ वटा अस्पताललाई सरकारको मातहत राखेर सञ्चलान गर्ने मन्त्रीपरिषद्बाट निर्णय गरेको थियो ।

सोही निर्णयबमोजिम मुख्यमन्त्री सतिस सिंह नेतृत्वको सरकारले अस्पताल सञ्चालनका लागि विभिन्न निकायबाट स्वास्थ्य उपकरण तथा औषधि पठाएको हो । करिब १४ वर्षयता सञ्चालन हुन नसकेको उक्त अस्पतालबाट तत्काल सेवा हुने मुख्यमन्त्री सिंहले प्रतिबद्धता जनाएका थिए ।

मुख्यमन्त्री सिंहले गरेको प्रतिबद्धताको दुई दिनभित्रमै अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा औषधि पठाइएको हो । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश स्वास्थ्यविज्ञान प्रतिष्ठानबाट डुमरिया अस्पतालबाट आवश्यक परिमाणमा स्वास्थ्य उपकरण र औषधि पठाइएको प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सचिव डा.सञ्जय ठाकुरले बताए ।


सम्बन्धित समाचार