Logo

२० भदौ,काठमाडौं। सरकारले जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रोकेको विषयमा संसदीय समितिमा प्रश्न उठेको छ । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले पूर्वाग्रही ढंगले उपसचिव उर्मिला काफ्लेको भ्रमण रद्द गरिएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग जवाफ मागेकी छिन् ।

बिहीबार बसेको राज्य व्यवस्था समिति बैठकमा राईले राजनीतिक प्रतिशोध राखेर कर्मचारीमाथि डन्डा चलाइएको दाबी गरेकी थिइन् । समितिमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले आफूले काफ्लेको भ्रमण रोकेको स्वीकार गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई ४÷५ दिनदेखि बोलाउँदा पनि मन्त्रालयमा नआएको उनको दाबी छ ।

काफ्लेले जीतपुरसिमराबाट पायक पर्ने ठाउँमा सरुवा गर्छौं भन्दा पनि नसुनेको मन्त्री गुप्ताले बताए । काठमाडौं बसेर पनि मन्त्रालयलाई नटेरेको भन्दै उनले भने, ‘हामीले मुद्दा पनि खेप्ने अनि विदेश पनि पठाउने भनेर एलाभेन्थ आवरमा मैले रोकेको हुँ ।’

मन्त्री गुप्ताले यूएसएडको एक कार्यक्रमका लागि अमेरिका जान मंगलबार (१८ भदौ) भिसा पाएकी काफ्लेको भिसा मंगलबार नै रद्द गर्ने निर्णय गरेका थिए । काफ्लेसहित १२ जना कर्मचारी ‘पब्लिक फिनान्सियल म्यानेजम्येन्ट’ बिषयक ४ दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन अमेरिका जान मनोनयनमा परेका थिए । त्यसमध्ये २ जना कर्मचारीको भिसा नै लागेन भने काफ्लेलाई मन्त्री गुप्ताले नै विदेश जान रोक्ने निर्णय गरेका थिए ।

मन्त्रिपरिषद् बैठकमै प्रधामनन्त्री केपी शर्मा ओलीले विदेश जाने सरकारी टोलीमा महिला कर्मचारीलाई बढी प्राथमिकता दिन र कम्तीमा एक जना भए पनि सहभागी गर्न मन्त्रालयहरुलाई निर्देशन दिएका थिए। तर, मन्त्री गुप्ताले ‘एक्सपिरिन्सियल लर्निङ÷ट्रेनिङ भिजिट’मा जाने तय भइसकेको महिला कर्मचारीको मनोनयन कारण समेत नखुलाई रद्द गरेका छन् ।

यूएसएडले १७ जुलाई २०२४मा पत्र लेख्दै ९ देखि १२ सेप्टेम्बरसम्मको कार्यक्रमका लागि निम्तो दिएको थियो। मन्त्रालयले ६ साउनमा उनलाई मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी अमेरिका जाने टोलीमा मनोनयन गरेको थियो । त्यतिबेला गुप्ता मन्त्री भएर आइसकेका थिए ।

मन्त्री गुप्ताले संसदीय समितिमा मन्त्रालयलाई नटेरकाले भ्रमण रद्द गरेको जवाफ दिएपछि सांसद राईले जीतपुरसिमरा नगरपालिकामा रहेको राजनीतिक विवादबीचमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयरप्रति कर्मचारी उत्तरदायी भएको आधारमा गरिएको भ्रमण रोक्ने निर्णय पूर्वाग्राही नै भएको बताइन् । उनले आगामी दिनमा यस्तो गतिविधि नदोहो¥याउन मन्त्री गुप्तालाई सचेत गराइन् ।

गत ३ साउनमा मन्त्री गुप्ताले एमाले जनप्रतिनिधिको दबाबमा प्रमुख प्रशासकीय अधिकृत काफ्लेको सरुवा गराएर चेतकुमार पोखरेललाई नै जीतपुरसिमरामा खटाएका थिए । तर, हाजीर भएको २ महिना नपुग्दै सुरुवा गरिएको भन्दै काफ्लेले सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् । सर्वोच्चले ११ साउनमा सरुवाको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

काफ्लेको सरुवा गराएर वन मुद्दा खेपिरहेका चेतकुमार पोखरेललाई जीतपुरसिमरामा पठाउने प्रयास असफल भएपछि मन्त्री गुप्ताले काफ्लेको स्वीकृत भइसकेको अमेरिका भ्रमण नै रोकिदिएका हुन् ।


सम्बन्धित समाचार