Logo

२१ भदौ,काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लासपा)ले २०८२ को वैशाख २६ गते पार्टीको पहिलो अधिवेशन गर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको पदाधिकारीको बैठकले सो निर्णय गरेको लोसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिएका छन् ।

महाधिवेशनको मिति तोकिसकेपछि केन्द्रीय समितिलाई महाधिवेशन तयारी मूल समितिमा परिणत गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुरको नेतृत्वमा तीन वर्षअघि लोसपा गठन भएको थियो । पार्टीको अन्तरिम विधान अनुसार पाँच वर्षभित्र महाधिवेशन गरिसक्नु पर्नेछ । सोही विधान अनुसार आउने वैशाखमा महाधिवेशनको मिति तय भएको लोसपाले जनाएको छ ।

महाधिवेशनअघि पार्टीका सम्पूर्ण तहको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने पनि निर्णय भएको लोसपाका महासचिव डा.सुरेन्द्र झाले बताए । कात्तिक मसान्तसम्म सदस्यता वितरणको काम सकाएर चैत मसान्तभित्र वडादेखि प्रदेशसम्मका सम्पूर्ण समितिको साधारण सभा गरिसक्नुपर्ने बैठकले निर्णय गरेको उनले बताए । त्यसका साथै पार्टीका अन्य घटक, विभाग, भातृ संगठन, समितिलगायतलाई पूर्णता दिइने निर्णय भएको उनले बताए ।

लोसपाले संविधान संशोधनको लागि विगतमा उठाइएका मधेसका सबै मुद्दाहरूको संकलन गर्दै मधेसी, थारु र अन्य उत्पीडित जनताको अधिकार कायम गराउन सरोकारवाला सबै दलसँग सहकार्यको अपिल गरेको छ । यस्तै लोसपाले संविधान संशोधनबारे अध्ययन गर्न वरिष्ठ उपाध्यक्ष लक्ष्मण लाल कर्णको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाउने पनि निर्णय गरेको छ । सो कार्यदलमा दान बहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य रहने लोसपाले जनाएको छ ।


सम्बन्धित समाचार