Logo

२१ भदौ,वीरगञ्ज । भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख र कर्मचारीहरुमाथि भएको हातपात र दुर्व्यवहारको जिल्लाका पाँचवटा कर्मचारी संगठनहरुले भ्रत्र्सना गरेका छन् ।

भदौ १८ गते मालपोत कार्यालय, वीरगञ्ज पर्सामा भएको घटनाको सम्बन्धमा कारवाहीका लागि पर्साका प्रमुख जिल्ला अधिकारीलाई शुक्रबार संयुक्त ज्ञापनपत्र बुझाएका हुन् ।

नेपाल निजामती कर्मचारी यूनियन जिल्ला कार्य समिति पर्सा, एकिकृत सरकारी कर्मचारी संगठन मधेस प्रदेश, नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति पर्सा, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) जिल्ला कार्य समिति पर्सा, नेपाल मधेशी निजामती कर्मचारीले शुक्रबार संयुक्त ज्ञापनपत्र बुझाउदै घटनाको भ्रत्र्सना गर्नुका साथै घटनाको जाँचबुझ गरी दोषीलाई नियमानुसारको कारवाही गर्न माग गरेका छन् ।

भदौ १८ गते भूमि सुधार तथा मालपोत कार्यालय पर्साका प्रमुख डमरु निरौलालाई कार्यालयको मूलगेटमै हातपात गरी अभद्र ब्यवहार र अपमानजनक शब्दहरु प्रयोग गरेर गालीगलौज गरेको घटना बारे सामाजिक संजालमा देखिएको भिडियो क्लीप तथा सो कार्यालयका कर्मचारीहरुले भदौ २० गते जाहेर गरेका प्रेस विज्ञप्ती प्रति  सम्पूर्ण ट्रेड युनियनकर्मीहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

उनीहरुले कानुनी राज्यमा कानून तथा न्यायको लागि सम्बन्धित निकायमा नपुगी राज्यको चौथो अङ्ग मानिने प्रेस जगतका कुनै पत्रकारले कुनै पनि कुराको सत्यतथ्य व्यवहोरा समाजमा उजार गर्नुको साटो कसैको करकाप, दबाव, निजी स्वार्थ वा पूर्वाग्राही तरिकाले कुनै पनि कार्यालयको कार्यालय प्रमुख तथा कर्मचारीलाई लक्षित गरि निराधार एवं अप्रमाणित, तथ्यहीन कुराको आधारमा अपशब्द प्रयोग गरी अभद्र व्यवहार गर्नु आफैमा लजास्पद विषय भएको भन्दै यस्तो गतिविधिले राष्ट्र सेवक कर्मचारीहरुको आफ्नो काम प्रतिको मनोबल घटनुको साथै प्रेस जगत माथि समेत प्रश्न चिन्ह खडा हुने र परिणाम स्वरुप सार्वजनिक सेवा प्रवाहमा अवरोध हुन गई सर्वसाधारण जनता समेत ठूलो मर्कामा पर्न जाने स्थिति सृजना हुन सक्ने स्मरण गराएको छ ।

घटनाको यथाशीघ्र सत्यतथ्य व्यवहोरा जाँचबुझ गरि दोषी माथि नियमानुसार कानुनी कारवाहीको पनि माग गरेका छन् । उनीह्रुले विचौलिया मार्फत् नभई सेवाग्राही र कर्मचारीबीच प्रत्यक्ष सम्पर्क हुने गरि निःस्वार्थ रुपले जनताको पीर मर्का बुझेर सुरक्षाको प्रत्याभूति हुने गरि भय रहित वातावरणमा कर्मचारीहरुले सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन सम्बन्धित सबै निकायलाई अनुरोध पनि गरेका छन् ।

अन्यथा, सम्पूर्ण ट्रेड युनियनकर्मीहरु सशक्त आन्दोलनमा जान सक्ने व्यवहोरा समेत ज्ञापन पत्र मार्फत जानकारी गराएका छन् । उनीहरुले जीर्ण अवस्थामा रहेको भौतिक संरचनालाई समेत सुधार गर्न माग गरेका छन् ।

ज्ञापनपत्रमा नेपाल निजामती कर्मचारी यूनियन जिल्ला कार्य समिति, पर्साका विजय अध्यक्ष कुमार गुप्ता, एकिकृत सरकारी कर्मचारी, संगठनका मधेस प्रदेश सदस्य मनोज साह, नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति, पर्साका उपाध्यक्ष सुशिल यादव, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) जिल्ला कार्य समिति, पर्साका अध्यक्ष सुनिल कुमार कुर्मी र नेपाल मधेशी निजामती कर्मचारीका केन्द्रिय उपाध्यक्ष रामाधार यादवले हस्ताक्षर गरेका छन् ।


सम्बन्धित समाचार