Logo

२२ भदौ,वीरगञ्ज । पर्साको ग्रामीणमा किसानहरुले उत्पादन गरेका सुर्तीको चलान शुरु भएको छ ।

किसानहरुले उत्पादन गरेका सुर्तीका पातलाइ सुकाई प्याकिङ्ग गरी सूर्या नेपाल प्रा लि सिमरामा चलान गरिरहेका छन् । चैत्र महिनामा लगाइएका बर्ली र एच.डी. जातका सुर्तीबाली अहिले चालन भइरहेका किसानहरुले बताएका छन् । चलान भएको मिति देखि १५ दिनदेखि एक महिनासम्म सूर्य नेपालले भुक्तानी दिने गरेको किसानहरुको भनाई छ ।

उक्त रकम धानबालीको लागि अन्तिम रासायनिक मल खरिद, किटनाशक औषधी तथा सिचाईका लागि किसानहरुलाई सहज हुने गरेको जिराभवानी गाउँपालिका वडा नं २ सेढवाका किसान जगदिश चौधरीले बताए । यसका साथै किसानहरुलाई खद्यान्न, विभिन्न पर्वको खर्च टार्न सहयोग हुने किसान चौधरीले बताए ।

जिल्लाको ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी, पर्सागढी र वीरगञ्ज महानगरपालिकाका केही वडाहरुमा यो बाली नगदेबालीका रुपमा लगाउने गरेका छन् ।

जिल्लामा अवैध गाँजा खेती गर्न प्रशासनले रोक लगाएपछि किसानहरुका लागि सुर्तीबाली नगदे बालीका रुपमा साबित हुदै गएको छ । सुर्तीबाली राम्रो भएमा प्रति कट्ठा १५ देखि २० हजार रुपैया आम्दानी गर्न सकिने ठोरी गाउँपालिका वडा नं.५ का किसान माईते दोङ्गले बताए ।

अन्य बालीको तुलनामा सुर्तीको खेतिले आम्दनी दोब्बर रहेका तथा बेचेपछि सूर्या नेपालले समयमा नै भुक्तानी गर्दा किसानहरुलाई सहज हुने गरेको दोङ्गको भनाई छ ।

सूर्य नेपालले उपलब्ध गराएका तथ्याङ्कका अनुसार पर्सा जिल्लामा एक हजार हेक्टर जमिन सूर्ती खेती गरिएको छ । एच डी र बर्ली जातका सुर्तीको खेती पर्सा जिल्लामा भएको सूर्य नेपालले जनाएको छ । नेपालमा तराईका नवलपरासी देखि सिरहा जिल्ला सम्मका सुर्ती उत्पादन गर्दै आए पनि सबैभन्दा बढि पर्सा जिल्लाबाट सुर्तीको आपूर्ति हुने गरेका सूर्या नेपालको तथ्यांक छ ।

 


सम्बन्धित समाचार